अझै सञ्चालनमा आएन भीमदत्त राजमार्ग

बिहीबार दिउँसोदेखि परेको हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गमा बाक्लो हिउँ जमेकोले अवरुद्ध बनेको हो ।

सात पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग अवरुद्ध भएपछि सयौं यात्रु बीचबाटोमै अलपत्र परेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना हिउँ पन्छ्याउन खटिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए । ‘डोजर प्रयोग गरेर राजमार्ग सफा गरिरहेका छौं । एकतर्फी रूपमा खुलिसकेको छ। अति आवश्यक सवारीसाधनलाई गन्तव्यमा पठाइरहेका छौं । अझैं पूर्ण रूपमा सञ्चालन आउन डेढ, दुई घण्टा लाग्छ,’ चन्दले भने ।

जिल्लाको उच्च भाग भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा पनि बाक्लो हिमपात भइरहेको छ । लामो समयपछि डडेल्धुरामा माघ महिनामा हिमपात भएको हो । हिउँ खेल्नेको भिडले यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको छ । हिमपातसँगै सेताम्मे भएका डाँडापाखामा हिउँसँग रमाउने युवायुवतीहरुको ताँती छ ।

हिमपातले जनजीवन कष्टकर भए पनि किसान भने हर्षित छन् । हिउँका कारण खेतीपाती राम्रो हुने भन्दै कृषक हर्षित बनेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार