सुनसरीमा ट्रक र बस एकापसमा ठक्कर खाँदा आगलागी, चार जनाको घटनास्थलमै मृत्यु

सुनसरीमा ट्रक र बस एकापसमा ठोक्कर खाँदा आगलागी भएर चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

शुक्रबार राति भोक्राहा नरसिंह नगरपालिका-३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंम्बरको बस ठोक्किएका थिए ।

दुर्घटनापछि दुवै सवारिमा आगलागी हुँदा चार जनाको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । मृत्यु हुनेमा बस चालक पाँचथरका सुरेन राई, ट्रक चालक र बसमा सवार अन्य दुई जना रहेको प्रत्यक्षदर्शीले बताए ।

दुर्घटनामा बसका कन्डक्टर झापाका रबिन ढुङ्गेल, मोरङका बिक्रम कटवाल, बसमा सवार दोलखाका मिङमा शेर्पा, बाराका दिपक श्रेष्ठ, बसका सहचालक उदयपुरका दिलकुमार बिक, बसमा सवार महोतरीका राहुलकुमार मण्डल, काठमाडौंका सादकन मिया, भारतकी मुना प्रधान, उमेश लामा, अमृता लामा, पाँचथरका पेवाहाङ जगेबु, तेह्रथुमका जितबहादुर लिम्बु र इलामका गोपाल दाहाल घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।

दुर्घटनाग्रस्त ट्रकमा सिमेन्ट लोड गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार