गर्भवतीको हत्या आरोपमा श्रीमान र ससुरा पक्राउ

कपिलवस्तुमा गर्भवतीको हत्या आरोपमा प्रहरीले श्रीमान र ससुरा पक्राउ परेका छन् । यशोधरा गाउँपालिका ८ सिहोखोर निवासी २१ वर्षीय रहिसुन्निसा मुसलमानलाई झुन्ड्याएर मारेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

उक्त घटनामा संलग्न भएको आरोपमा मृतकका श्रीमान २२ वर्षीय मोहम्मद नसिम अलि भाट मुसलमान र ५० वर्षीय ससुरा अब्बास अलि भाट मुसलमान पक्राउ परेका हुन् । उनीहरुमाथि अनुसन्धान सुरु भएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

मारेर पुरिएको शव उत्खनन गरेर पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाइएको छ । प्रहरी उपरीक्षक दानबहादुर कार्कीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइराखेको छ । प्रहरीका अनुसार मृतक महिला दुई महिनाको गर्भवती भएको खुलेको छ ।

मृतकको शव प्रहरी, जिल्ला अस्पताल तौलिहवाका डा. जावेद अख्तर खान, सहायक जिल्ला सरकारी न्यायाधीवक्ता खडानन्द पोख्रेलको उपस्थितिमा उत्खनन गरिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार