फागुन १ गतेबाट विद्यालय खुला गर्न सरकारलाई सुझाव

कोरोना महामारीको तेस्रो लहरका कारण बन्द भएका विद्यालय फागुन १ गतेबाट पुन: सञ्चालन गर्न सरकारलाई सुझाव दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिसहित सरोकारवालबीच भएको छलफलमा उक्त सुझाव दिइएको हो ।

सरकारले आफ्नो क्षेत्रमा रहेको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा पालिकालाई दिन लागेको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले माघ १२ गते शिक्षामन्त्री पौडेललाई भेटेर माघ २३ पछि विद्यालय खोल्न दिनुपर्ने माग गरेको थियो ।

सरकारी अधिकारीहरूले फागुन १ गतेदेखि विद्यालय खोल्ने गरी तयारी गरेको जानकारी गराएका अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए । आफूहरूले विद्यालय खोल्ने वा बन्द गर्ने सबै अधिकार पालिकालाई दिन माग गरेको पनि उनले बताए । केही पालिकाहरूले भने विद्यालय खोल्ने निर्णय गरिसकेका छन् ।

छलफलमा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव, संघीय मामिलाका सहसचिव, स्वास्थ्य,तथा जनसंख्या मन्त्रालयका विज्ञ, अभिभावक महासंघ, प्याब्सन, एनप्याब्सनका प्रतिनिधी सहभागी थिए ।

यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ महिनासम्म भौतिक रूपमा शैक्षिक संस्थाहरू बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यसैअनुसार शैक्षिक संस्थाहरू अहिले बन्द छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार