बागलुङमा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज

बागलुङ जिल्लाका ६२ देखि ६४ वर्षभित्रका ज्येष्ठ नागरिकलाई आजदेखि कोभिड–१९ विरुद्धको बुस्टर डोज दिन थालिएको छ । सो उमेर समूहका झण्डै तीन हजार ५०० जनाले खोपको थप मात्रा पाउने छन् ।

खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताए । उनका अनुसार जिल्लाका दसवटै स्थानीय तहमा अहिले कोभिड–१९ विरुद्धको खोप अभियान चलिरहेको छ ।

“हरेक स्थानीय तहमा सातामा दुई बार खोप सेवा सञ्चालन भइरहेको छ, बुस्टर मात्रा पनि त्यसैअन्तर्गत दिइन्छ”, उनले भने, “६० वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने भनिए पनि दुवै मात्रा खोप लगाएर ६ महिना पुगेका ६२–६४ वर्ष उमेर समूहलाई पहिलो चरणमा खोप दिन लागिएको हो ।” उनले सरकारी नीतिअनुरुप नै जिल्लामा खोपको उपलब्धता हेरेर सबै ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने बताए ।

यसअघि महामारीका बेला अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारलगायत गरी करिब तीन हजारलाई बुस्टर डोज दिइएको थियो । कोभिशिल्ड र भेरोसेल खोप लगाएकाले त्यसकै थप मात्रा पाएका हुन् । पहिले जुनसुकै खोप लगाएको भए पनि अहिले कोभिसिल्डकै बुस्टर मात्रा दिन मिल्ने गरी नयाँ खोप वितरण नीति तय भएको सुपरभाइजर खत्रीले बताए ।

बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले आज र मङ्गलबार ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने जनाएको छ । नगरको स्वास्थ्य शाखा परिसरबाटै खोप सेवा प्रदान हुनेछ । अरु स्थानीय तहले पनि स्थानीय अनुकुलतामा बार तोकेर खोप अभियान सञ्चालन गरिरहेका छन् । स्वास्थ्य कार्यालयको आँकडा अनुसार जिल्लाका १८ वर्षमाथिका ८८ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् । खोपको दुवै मात्रा लगाउनेको सङ्ख्या भने ७८ प्रतिशत छ ।

पहिलो मात्रा खोप लगाउने एक लाख ४४ हजार ९७० छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या एक लाख २८ हजार ५५९ रहेको छ । १२ देखि १७ वर्षभित्रका झण्डै २७ हजार बालबालिका र किशोरकिशोरीलाई पनि मोडर्ना खोप दिन सुरु गरिएको छ । १२ वर्षमुनिका बालबालिकाका लागि भने अहिलेसम्म खोप आइसकेको छैन । सरकारले आउँदो चैतभित्रमा सबै नेपालीलाई खोपको पहुँचमा ल्याउने लक्ष्य राखेको छ । सबै उमेर समूहलाई लक्ष्य गरी खोप अभियान चलेमा त्यहाँका दुई लाख ५० हजार ५४४ जनालाई खोप दिनुपर्नेछ ।

खोपकै कारण कोरोना महामारीको तेस्रो लहर कम जोखिमपूर्ण देखिएको स्वास्थ्यकर्मी बताउँछन् । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलका अनुसार पछिल्लो लहरमा कोभिड–१९ ले थलिएर अस्पताल भर्ना हुनेको संख्या न्यून छ । “खोपले शरीरको प्रतिरोधी क्षमता बढाएका कारण सङ्क्रमण भइहाले पनि स्वास्थ्य जटिलता निम्तिएको छैन”, उनले भने ।

हाल जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमितको संख्या चार सय ८४ छ । पछिल्ला दिनमा दैनिक थपिने सङ्क्रमितको संख्या घट्दो छ । बिहीबार २२ सङ्क्रमित थपिएका छन् भने ८५ जना कोरोनामुक्त भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार