म्यानपावर कम्पनीलाई तीन समूहमा वर्गीकरण गरिने, मापदण्ड बनाउन कार्यदल

म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने तयारीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लागेको छ ।

म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न  मन्त्रालयले सहसचिव राजीव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा वैदेशिक रोजगार विभागका महानिर्देशक, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधि सदस्य रहेको श्रममन्त्रीका प्रेस संयोजक तेजप्रसाद वाग्लेले जानकारी दिए।

समितिले वर्गीकरण गर्ने मापदण्ड, सूचकहरु सहितको कार्यविधि तयार पार्नेछ। यसअघि म्यानपावर कम्पनीहरु धरौटीका आधारमा मात्रै तीन समूहमा छन्। तर अब सबै कुरालाई समेटेर नयाँ मापदण्डका आधारमा वर्गीकरण गरिने सचिव अर्यालले बताए ।

नेपालमा अहिले करिब ८ सय ६० वटा म्यानपावर कम्पनी सञ्चालनमा छन् । उनीहरुले २ करोडदेखि ६ करोडसम्म धरौटी राखेका छन् । उनीहरुले पठाउने श्रमिकको संख्याका आधारमा धरौटी तय गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार