नेपालमा कोरोना संक्रमणदर ओरालो लाग्दै, जोखिम भने कायमै

१८ वर्ष माथिका ७० प्रतिशतले लगाए पूर्ण खोप

नेपालमा पछिल्ला केहि दिन यता कोरोना भाइरसको संक्रमणदर घट्दो क्रममा रहेको छ । निको हुनेको संख्या पनि निरन्तर बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

बिहिबार ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार २६ पिसिआर परिक्षणका क्रममा २ हजार ७ सय ४२ जना र २ हजार ५ सय ७९ एन्टीजेन परिक्षणका क्रममा ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बुधबार ११ हजार ५ सय ८२ नमुना परीक्षण गर्दा ३ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । गत आइतबार १३ हजार १४५ नमुना परीक्षण गर्दा तीन हजार ५४० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

गत माघ ६ गते नेपालमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । त्यस दिन २७ हजार ४९७ नमुना परीक्षण गर्दा १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको थियो । तर त्यस यता कोरोना भाइरसको संक्रमणदर ओरालो लागेको छ ।

मन्त्रालयले हाल नेपालमा कोरोना भाइरसको संक्रमणदर ३५ दशमलव २ प्रतिशत रहेको बताएको छ । बुधबारको प्रेस ब्रिफिङमा गत साताको तुलनामा यो साता १४ दशमलव ३ प्रतिशतले संक्रमणदर घटेको मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्रले बताइन् ।

सन् २०२१ नोभेम्बरको अन्तिम साता दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको अमिक्रोन भेरिएन्ट विश्वभरी नै तिव्र गतिमा फैलिरहेको छ । नेपालमा भने गत पुस १९ गते ३ जनामा अमिक्रोनको संक्रमण पुष्टि भएको थियो । त्यस बेला नेपालमा दैनिक दुई सय हारहारीमा संक्रमित भेटिने गरेका थिए । त्यसयता नेपालमा कोरोना भाइरसको संक्रमणदर निरन्तर उकालो लागेको थियो । मन्त्रालयले कोरोना भाइरसका संक्रमित मध्ये ८८ प्रतिशतमा अमिक्रोन संक्रमण रहेको बताइसकेको छ ।

निको हुनेको संख्या बढ्दै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ १६ गते आइतबार ६ हजार ३ सय ५९ जना निको भएका थिए । यस्तै सोमबार ८ हजार १ सया ९२ जना डिस्चार्ज हुँदा मंगलबार ८ हजार २ सय ६७ जना कोरोना संक्रमीत निको भएका थिए । बुधबार भने ७ हजार ५ सय ५५ जना निको भएका थिए । भने बिहीबार थप ८ हजार ७ सय २३ संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ८ लाख ८७ हजार ४ सय ४३ जना संक्रमितले कोरोना जितेका छन् ।

१८ वर्ष माथिका ७० प्रतिशतले लगाए पूर्ण खोप
नेपालमा १८ वर्ष माथिका ७० प्रतिशत व्यक्तिहरुले कोरोना विरुद्धको खोप लगाएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ७० प्रतिशत वयस्क जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकोमा नेपाललाई बधाई समेत दिएको छ । ‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई। यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो। एकजुट भइ सहकार्य गरे जे पनि सम्भव हुने यसले साबित गरेको छ,’ डब्ल्यूएचओले उल्लेख गरेको छ ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित भएपछि ‘खोप, खोप र खोप’ को नीतिअनुसार अघि बढ्ने बताएका थिए । जसअनुसार सरकारले अहिले देशभर नै खोप अभियान सञ्चालन गरिरहेको छ । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने सरकारको लक्ष्य छ ।

जोखिम अझै घटेको छैन
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले तथ्याङ्कमा संक्रमणदर घटेको देखिए पनि जोखिम भने कायम रहेको बताएका छन् । अहिले कोरोनाका लक्षण देखिएका धेरै बिरामीहरुले परीक्षण नै नगराएकाले घरघरमा संक्रमित हुन सक्ने उनको अनुमान छ । टि.भी अन्नपूर्णसँगको कुराकानीमा डा. पुनले लक्षण देखिएका धेरै बिरामी घरघरमा बसेकाले संक्रमीत हुनेको संख्या घटेको बताए । उनले जोखिम अझै कम नभएकोले सावधानी अपनाउन आग्रह समेत गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार