प्रदीप ज्ञवाली भन्छन्- एमसीसीलाई लिएर गठबन्धन दलले भूराजनीतिक द्वन्द्व निम्त्याउन खोज्यो

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसीलाई लिएर गठबन्धन दलले भूराजनीतिक द्वन्द्व निम्त्याउन खोजेको बताएका छन् ।

युवा संघले बुधबार काठमाडौँमा आयोजना गरेको स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति विषयक खुला बहस कार्यक्रममा बोल्दै ज्ञवालीले मुलुक अनिर्णयको बन्दी बन्दै गर्दा गठबन्धन दलले भूराजनीतिक द्वन्द्व निम्त्याउन खोजेको बताएका हुन् ।

उनले एमसीसी विकास परियोजना मात्र भएको भन्दै अहिले जानी जानी भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काम उचित नरहेको समेत बताए । ज्ञवालीले जनादेश विपरीत बनेको सरकारले मुलुकलाई अस्तव्यस्त बनाउने काम गरेको आरोप लगाए । उनले अहिले ताजा जनादेशमा जानुको विकल्प नरहेको भन्दै सबै निर्वाचनमा एमाले एक्लै लड्न तयार भएको धारणा राखेका छन् । उनले अहिलेको गठबन्धन अप्राकृतिक रहेको बताए ।

त्यस्तै काँग्रेस नेता मिनेन्द्र रिजालले एमालेलाई संसद्को अवरोध खुलाउन आग्रह गर्दै सभामुखको भूमिका चित्त नबुझे संविधान अनुसार अगाडि बढ्ने बाटो खुला रहेको बताए ।

कार्यक्रममा एमाले नेता महेश बस्नेतले संविधान र लोकतन्त्र बचाउन जेठ ४ गतेभित्र स्थानीय तहको निर्वाचन हुनुपर्ने धारणा राखे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार