भक्तपुरका अधिकांश वधशाला मापदण्डविपरित

भक्तपुरका अधिकांश पशु वधशाला उपभोक्ताको स्वास्थ्यका लागि प्रतिकूल रहेको पाइएको छ ।

भक्तपुर नगरपालिकाले आज यहाँ गरेको पशु वधशालाहरुको अनुगमनका क्रममा यहाँका अधिकाँश पशु वधस्थल अति फोहोर रहेको हुँदा यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने देखिएको हो । नगरपालिकाका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज हनुमानघाट, महेश्वरी स्थानलगायतका वधस्थलहरुको अनुगमन गरिएको थियो ।

वधशाला फोहर हुँदा यहाँबाट बजार जाने मासु पनि स्वस्थ्यकर नहुने र यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने उनले बताए । वधशालालाई अझ बढी व्यवस्थित गरी तोकिएको मापदण्ड अनुसार सञ्चालन गर्नुपर्ने संयोजक गोराको भनाइ छ । अधिकांश वधशालामा भुइँ र भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्बल वा टायल नराखेको, फोहोर पानी निकासको व्यवस्थापन नभएको, पानी शुद्धिकरण नगरेको, पशुपक्षी वधयोग्य भए/नभएको परीक्षण नगरेको र राँगा वध गरेपछि आएका फोहोरलाई उचित व्यवस्थापन नगरिएको पाइएको उनले बताए ।

महेश्वरी सप्लार्यस, जय महेश्वरी माँ फ्रेस मिट, न्यू महेश्वरी हाइजेनिक मिट शप, वधस्थल सरसफाइमा ध्यान नदिएको, किमा बनाउने मेसिन र टेबुल सफा नराखेको, एप्रोन सेतो र सफा नगरेको, फोहोरहरु व्यवस्थित नगरेकाले मापदण्डभित्र रहेर सञ्चालन गर्न निर्देशन दिएको छ । कतिपय पसलले पसल नवीकरण गर्न र तराजु पनि नापतौल विभागमा नवीकरण नगरेको पाइएकाले त्यस्तालाई तीन दिनभित्र नवीकरण गर्न निर्देशन दिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

वधस्थलको फोहोर पर्खाल बनाएर छुट्याउनु पर्ने, वधस्थल सफा गर्नुपर्ने, एप्रोन सेतो र सफा प्रयोग गर्नुपर्ने, मूल्य सूची व्यवस्थित गर्नुपर्ने, मासु राख्ने टेबल ग्लासले छोपेर बारेको, धुलो र झिँगा नभन्किने गरी मासु सुरक्षित राख्नुपर्ने, राँगो काट्ने वा मार हान्ने जीवित राँगोले नदेख्ने गरी व्यवस्थापन गर्नुपर्ने र मासु व्यवस्थापन गर्ने भुइँमा पानी नजम्ने र सफा गर्न मिल्ने गरी व्यवस्थित गर्नुपर्ने गरी सुधार गर्न सबै वधशाखालाई निर्देशन दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार