कोरोना खोप हिनामिनाको आरोप लगाउँदै युवा संघले दियो स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

नेकपा एमालेको युवा भ्रातृ संगठन राष्ट्रिय युवा संघले कोभिड–१९ को २४ लाख डोज खोप हिनामिना भएको दाबी गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दिएको छ ।

युवा संघका सहसंयोजकहरू संजीवकुमार झाले मन्त्री विरोध खतिवडालगायतविरुद्ध मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा स्वास्थ्यमन्त्री भएर खतिवडा आएपछि २४ लाख डोज कोरोना भाइरसको खोप हिनामिनागरेको आरोप लगाइएको छ । ‘नेपाल सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्री भई जिम्मेवारी बहन गरेपछि २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम हिनामिना गरेको हुँदा मन्त्री विरोध खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्ति उपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाही गरी पाउँ,’ उजुरीमा भनिएको छ, ‘यस सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८, १७ तथा अन्य कानुनी प्रावधान बमोजिम भ्रष्टाचारमा संलग्न स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा तथा अन्य व्यक्ति पत्ता लगाई कारबाही गरिपाउँ ।’

यसअघि सोमबार स्वास्थ्य मन्त्रालयले यही २१ माघ शुक्रबार अपरान्ह ४ बजे भित्रमा खोपको विवरण बुझाइसक्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई निर्देशन दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार