भारतले नेपाललाई १२ अर्ब अनुदान दिने

भारत सरकारले वित्त वर्ष २०२२/२३ मा नेपाललाई अनुदान दिने गरी ७ अर्ब ५० करोड भारतीय रुपैयाँ (१२ अर्ब नेपाली रुपैयाँ) अनुदान दिने भएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सितारमणले मंगलबार लोकसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०२२/२३ को बजेटमा १२ अर्ब रुपैयाँ विनियोजन गरेको उल्लेख छ । भारतले नेपाललाई गतवर्ष प्रदान गरेको वास्तविक अनुदानभन्दा यस वर्ष बढी बजेट विनियोजन गरेको हो ।

गत वर्षको बजेटले ९ अर्ब ९२ करोड भारु छुट्याएको थियो । सो वर्ष यो रकम संशोधन गरी भारतले ६ अर्ब ५० करोड भारुमा झारेको थियो । त्यसो त वित्त वर्ष २०२०/२१ मा भारतले ८ अर्ब ७९ करोड भारु रकम नेपाललाई अनुदान दिएको थियो ।

भारतले नेपालसहित मरिसस, सिसेल्स, म्यानमार, अफगानिस्तान, भुटान, श्रीलंका, बंगलादेश, मंगोलिया र विभिन्न अफ्रिकी देशहरू तथा मानवीय र प्राकृतिक प्रकोपका लागि ९६ अर्ब ७० करोड रुपैयाँ अनुदानका लागि विनियोजन गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार