कालोमोसो दलिएका सहायक वन अधिकृतको चुनौती- समाज रुपान्तरणको औकात भए खुला बहस गर

कैलालीको पचमुडिया सव डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत विश्वराज पण्डितमाथि भएको दुव्यर्वहार घटनाको वनकर्मीले विरोध गरेका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले उनीमाथि दुर्व्यवहार गरेको भन्दै वनकर्मीले विरोध जनाएका हुन । उनीहरुले घटनाका दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गतको पचमुडिया सव डिभिजन वन कार्यालयमा कार्यरत पण्डितमाथि सोमबार रङ्ग दलिएको थियो । पडितले नै आफूमाथि विप्लव नेतृत्वको नेकपाका केही कार्यकर्ताले रङ्ग दलेको भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

यसैबीच, आफूमाथि मोसो दलिएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै सहायक वन अधिकृत पण्डितले नेकपाका कार्यकर्तालाई समाज रुपान्तरणका लागि खुल्ला बहस गर्न चुनौती दिएका छन् । उनले लेखेका छन्– ‘चरित्रमा दाग नलागुञ्जेलसम्म अन्य अनेकौं रङ पोतेर केही फरक पर्नेवाला छैन । समाज रुपान्तरणको लागि यदि औकात छ भने खुल्ला बहस गर्न चुनौती दिन्छु ।’

उनले पचमुडिया सव डिभिजन वन कार्यालयमा कार्यरत रहँदाको यो घटना अविस्मरणीयसमेत रहने उल्लेख गरेका छन् । साथै, देश र जनताकाविरुद्धमा आफ्नो कुनैपनि कार्य भए तीन तहका अदालत र संवैधानिक निकाय र जन अदालतको कठ्घरामा आफू उभिन तयार रहेको उल्लेख गरेका छन् । ‘अन्यथा, एउटा सचेत प्राकृतिक व्यक्तिका हैसियतले समयले सबैको हिसाब किताब गर्ने नै छ’, पण्डितले लेखेका छन् ।

गएको पुसमा नेकपा जिल्ला कार्यसमितिले भजनी नगरपालिकास्थित लक्ष्मी, सयपत्री लगायतका सामुदायिक वन उपभोक्ता समितिसंग सहयोग भन्दै तीन लाख रुपियाँसम्म उठाएको थियो । नेकपाले चन्दा मागेको भन्दै सहायक वन अधिकृत पण्डितले त्यसको विरोध गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार