निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै मन्त्री क्वाटर अगाडि प्रदर्शन

सञ्चारमन्त्रीलाई कालोझण्डा

स्थानीय तहको निर्वाचनका लागि तत्काल मिति घोषणाको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

२०७९ जेठको पहिलो हप्ता स्थानीय तहका पदाधिकारीहरुको पाँच वर्षे अवधि समाप्त हुने भएकाले तत्काल मिति घोषणा गर्न माग गर्दै अनेरास्ववियुले मंगलबार पुल्चोकस्थित मन्त्री क्वाटर अगाडि प्रदर्शन गरेको हो ।

साथै उनीहरुले चुनावको मिति तत्काल घोषणा गर, चुनाव सार्न पाइँदैनलगायतका नारा लगाएका थिए । प्रदर्शनकारीले निवासबाट बाहिरिँदै गरेका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई कालोझण्डा समेत देखाएका छन् ।

सत्ता साझेदार पाँच दलीय गठबन्धनले आउँदो जेठभित्र स्थानीय तहको चुनाव गर्ने सहमति गरेका छन् । तर सत्ता गठबन्धन तीनै तहको निर्वाचन एकै पटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने अन्योलमै रहेको छ । स्थानीय तहमा बहालवाला जनप्रतिनिधिको पदावधि जेठ ५ गते समाप्त हुँदैछ ।

निर्वाचनको तयारीका लागि १ सय २० दिन आवश्यक पर्ने भएकोले सरकारलाई निर्वाचनको मिति तोक्न आयोग र प्रमुख प्रतिपक्ष दल एमालेले दबाब दिँदै आएको छ । वैशाखमा निर्वाचनको मिति नतोकेर सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजेको एमालेको आरोप छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार