टिपरको ठक्करबाट आँगनमा आगो तापिरहेका दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

बर्दियामा टिपरको ठक्करबाट घरको आँगनमा आगो तापिरहेका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बढैयाताल–३ सतपतियाका ४० वर्षीय सोमबहादुर विक र ४७ वर्षीय रामु चौधरी रहेको प्रहरीले जनाएको छ । घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

सोही ठाउँका ३५ वर्षीया प्रमिला चौधरी र ४० वर्षीया बेलमति थारु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दुवै जनाको अवस्था चिन्ताजनक भएकोले उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पताल लगिएको छ । चालकले अत्यधिक मदिरा सेवन गरी टिपर चलाएकाले अनियत्रित भई सडकदेखि उछिट्टिएर आँगनमा पुगेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

चालक सुर्खेत वीरेन्द्रनगरका दुर्गा विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्थानीय र आफन्तले चालकमाथि कडा कारबाही र क्षतिपूर्ति माग गर्दै नेपालगन्ज–गुलरिया सडकखण्ड मंगलबार बिहानदेखि भोलागौढी खण्डमा चक्काजाम गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार