फेरि बढ्याे खाने तेलको भाउ

बजारमा खाने तेलको भाउ पुनः बढेको छ । गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपैयाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपैयाँ पुनः बढेको छ ।

बजार सीमित उद्योगीको नियन्त्रणमा रहेको र सरकारका नियमनकारी निकायको बजारमा कमजोर उपस्थितिका कारण तेलको भाउ बिनाकारण महँगो भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो पटक सनफ्लावर, भटमास र तोरीको तेलको भाउ मूल्य लिटरमै १० देखि १५ रुपैयाँसम्म बढेको छ ।

सङ्घले १५ दिनअगाडि प्रतिलिटर २३५ देखि २४० रुपैयाँ रहेको सनफ्लावर तेलको मूल्य २५० रुपैयाँ पुगेको जनाएको छ । यस्तै यसअघि प्रतिलिटर २२० रुपैयाँ रहेको भटमासको तेलको मूल्य बढेर लिटरको २३५ रुपैयाँसम्म पुगेको छ । त्यसैगरी तोरीको तेल पनि ब्रान्डअनुसार १० देखि १५ रुपैयाँसम्म बढेको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले भारतमा तेल महँगिएका कारण नेपालबाट भारततिर तेल आपूर्ति हुन थालेकाले बजारमा खाने तेलको मूल्य आकाशिएको बताए ।

कच्चा पदार्थको मूल्य केही बढेको भए पनि नेपालमा प्रशोधन भएको तेल भारतमा आपूर्ति गर्ने प्रवृत्ति बढेका कारण नेपाली बजारमा तेलको मूल्य आकाशिएको उनको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार