मोरङको उखुबारीभित्र खाल्डोमा भेटिएका दुवै शवको पहिचान खुल्यो

मृतक एकअर्काका साथी

मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोबाट निकालिएका दुवै शवको पहिचान खुलेको छ । गत बिहीबार खाल्डोबाट उत्खनन गरिएको शव सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई काठमाडौं बस्ने शम्भु चौधरीको रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । मृतकको शारिरीक बनावट र घटनास्थलमा भेटिएको कपडाका आधारमा आफन्तले शवको पहिचान गरेका हुन् ।

उखुबारीमा गाडेको अवस्थामा प्रहरीले बुधबार राति एउटा र बिहीबार दिउँसो एउटा शव उत्खनन गरेको थियो । बिहीबार खाल्डोबाट निकालिएको शवको साथमा भेटिएको कागजातका आधारमा धरान उपमहानगरपालिका–३ घर भई भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठको पहिचान खुलेको थियो । श्रेष्ठको पोष्टमार्टमपछि आफन्तले शुक्रबार नै सदगद गरेका थिए ।

तर अर्को शवको सनाखत भएको थिएन । श्रेष्ठसँग सम्पर्कका आधारमा प्रहरी शम्भुको परिवारसम्म पुगेको थियो । अनुसन्धानको क्रममा दुवै जना एक अर्कोको साथी रहेको र एकै समयमा सम्पर्कविहीन भएको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । उनीहरु दुवैजना जग्गा कारोबार र ठेक्कापट्टा गर्थे ।

प्रहरी उपरीक्षक जिसीका अनुसार चौधरी हाल काठमाडौंको क्षेत्रपाटी बस्थे भने श्रेष्ठ भक्तपुरको लोकन्थलीमा परिवारसँग बस्थे । उनीहरु एक महिनाअघि काठमाडौंबाट सँगै विराटनगर लागेको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीले विराटनगर, झापा र काठमाडौंका केही शंकास्पद व्यक्तिमाथि सोधपुछ गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार