त्रिकोणात्मक टी–२०: मलेसियालाई १५ रनले हराउँदै नेदरल्यान्ड्सले निकाल्यो पहिलो जित

नेदरल्यान्ड्सले त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा पहिलो जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा आइतबार मलेसियालाई १५ रनले हराउँदै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो । पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग पराजित भएको थियो । मलेसियाले भने हारबाट सिरिजको सुरुवात गरेको छ ।

नेदरल्यान्ड्सले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन बनायो । मलेसियाका लागि विरन्दीप सिंहले ८७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

नेदरल्यान्ड्सका लागि आर्यन डत्त, सेवास्तिन ब्राट र बास डे लिडेले समान २/२ विकेट लिए । त्यस्तै, फिलिप्पे बोइसेविन र पिटर सिलारले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ’डोउडले अविजित रहदै १ सय ३३ रनको शतकीय इनिङ्स खेले । उनले ७३ बलमा १५ चौका र ६ छक्का प्रहार गर्दै १ सय ३३ रन जोडेको शतकीय पारी खेलेका हुन् । म्याक्सले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सका लागि शतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान समेत बनाए । मलेसियाका लागि पवनदीप सिंह र अनवर रहमानले १/१ विकेट लिए ।

यस जितसँगै नेदरल्यान्ड्सले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग ९ विकेटले पराजित भएको थियो । मलेसियाले भने अंक जोड्न सकेको छैन । प्रतियोगिता अन्तर्गत सोमबार नेपालले मलेसियासंग खेल्दै छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार