संघीय संसदविरुद्ध ठूलो घेराबन्दी भयो : सभामुख सापकोटा (भिडियो)

सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदविरुद्ध ठूलो घेराबन्दी भएको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल पत्रकार महासंघको विदाई तथा पदभार कार्यक्रममा सभामुख सापकोटाले आफू सभामुखका रूपमा राष्ट्रिय हितका पक्षमा उभिएदेखि नै यस्तो घेराबन्दी भएको बताएका हुन् ।

संसदलाई जनमूखी बनाउन थालेपछि घेराबन्दी गरिएको र विभिन्न अभिव्यक्ति आउने गरेको भन्दै उनले यसलाई कुनै व्यक्ति वा अधिकारीबीचको टक्करको रुपमा लिन नहुने र यो प्रवृत्तिबीचको टक्कर भएको बताए । सापकोटाले अहिलेको टक्कार संविधानको रक्षा गर्ने कुरासँग पनि सम्बन्धित रहेको जिकिर गरेका छन् । सभामुख सापकोटाले आफूले देश र जनताको हितविपरीत कुनै काम नगर्ने र आफूलाई जनताको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने उल्लेख गरे । सभामुख सापकोटाले संविधान र लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्ने मामिलामा आफू सधैं दृढ भएर लाग्ने बताए ।

‘नेपालको संविधानलाई रक्षा र विकास गर्ने कुरामा म दृढ छु । भन्नेले के भन्छन् मैले वास्ता गरेको छैन, म लुरुलुरु अगाडि बढेको छु । मैले जे गरेको छु देशलाई सम्झेर गरेको छु । देश र जनताको अधिकतम हितमा काम गरेको छु ।’  आफूले जानाजान देश र जनताको हितविपरीत काम नगरेको र आगामी दिनमा पनि त्यस्तो नगर्ने उनको भनाइ थियो ।

उनले कानुन निर्माणमा संसद्को महत्वपूर्ण भूमिका रहने भएकाले त्यसलाई प्रभावकारी ढंगले चलाउन प्रयास गर्ने समेत बताएका छन् । कार्यक्रममा पुरानो कार्यसमितिलाई बिदाई तथा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार