परिवार नै क्रिप्टो करेन्सी कारोबारमा, ३७ करोड ६४ लाख रूपैयाँ बिगोसहित मुद्दा दायर

राजस्व अनुसन्धान विभागले क्रिप्टो करेन्सीको कारोबारमा संलग्न भएको आरोपमा एकै परिवारका चारजनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

कैलालीको लम्किचुवा स्थायी घर भई काठमाडौं बस्ने दिनेश खड्का, उनकी दिदी भगवती खड्का, बुवा नरबहादुर खड्का र केटी साथी अनिता धितालविरुद्ध विनियम ऐनविरुद्ध कारोबार गरेको कसूरमा मुद्दा दर्ता गरेको हो ।

उनीहरुले क्रिप्टो करेन्सीको कारोबार सामूहिक रुपमा मोबाइल एप्स  ई-स्कील, बाइनान्स नामक मोबाइल एप्लिकेन्सबाट रकम लोड/अनलोड गरी गरेको भेटिएको हो ।

प्रतिवादी दिनेशको ग्लोबल आईएमईको खाताबाट ९ करोड ७९ लाख ९८ हजार ५ सय ८१ रुपैयाँ, भगवतीको एनआईसी एसिया बैंकको खाताबाट २० करोड ४२ लाख ९४ हजार ५ सय, अनिताको लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख ६ हजार ८२६ रुपैयाँ र नरबहादुरको ग्लोबल आईएमईको खाताबाट १ करोड ६४ लाख ११ हजार १ सय ६५ गरी कुल रकम ३७ करोड ६४ लाख ११ हजार १ सय ६५ बराबरको (अमेरिकी डलर ३१ लाख २७ हजार ८ सय ९६) बिगो दाबी गरेको छ ।

साथै विभागले विदेशी विनिमय ऐन, २०१९ को दफा ३ को उपदफा १, दफा ४ को उपदफा १, दफा ५ को उपदफा १ र दफा १२ बमोजिम प्रतिवादी दिनेश खड्कालाई सोही ऐनको दफा १७ को उपदफा १ बमोजित बिगो जफत गरी ३ वर्षसम्म कैद सजायको मागदाबीसमेत गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार