१९ वर्षमा विमानबाट एक्लै संसार घुम्ने पहिलो महिला पाइलट

१९ वर्षीया महिला पाइलटले एक्लै विमान उडाएर पाँच महिनामा संसारको यात्रा गरेकी छन् । ती महिला यस्तो गर्ने सबैभन्दा कम उमेरकी महिला बनेकी छन् ।

जारा रदरफोर्डले खराब मौसमका कारण निर्धारित समयभन्दा दुई महिना ढिलो आफ्नो यात्रा पूरा गरिन् । उनको विमान आफ्नो लक्ष्य पूरा गरी बेल्जियमको कोर्टरिजक-वेभेलगेम अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्न सफल भयो ।

सुपरलाइट विमानबाट गरेको यो यात्रामा उनी एक महिना अलास्काको नोम र ४१ दिन रूसको अयानमा फसेकी थिइन् । आँधीका कारण उनी कोलम्बियामा पनि बस्नुपर्ने भयो ।

बेल्जियम फर्किएपछि उनलाई विमानस्थलमा परिवार, पत्रकार र समर्थकले न्यानो स्वागत गरेका थिए । उनको विमानसँगै बेल्जियमको रेड डेभिल्स एरोबेटिक डिस्प्ले टोलीका चारवटा विमान पनि त्यहाँ अवतरण गरेका थिए ।

विमानबाट ओर्लिएपछि उनले आफूलाई बेलायत र बेल्जियमको झण्डामा बेरिन् । ‘यो साँच्चै अद्भुत अनुभव भएको छ । म विश्वास गर्न सक्दिनँ’, उनले भनिन् । पत्रकार सम्मेलनमा उनले ५१ हजार किलोमिटर उडानको चुनौती पूरा गर्न पाउँदा निकै खुसी लागेको बताइन् ।

जाराका आमा बा दुबै पाइलट थिए । उनले आफू अन्य केटीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित क्षेत्रमा लाग्न प्रोत्साहित गर्न चाहेको बताइन् ।

जारा रदरफोर्ड अघि विश्वभर एक्लै उडान गर्ने सबैभन्दा कम उमेरकी महिला अमेरिकाकी शाइस्ता वाज थिइन् । उनले करिब पाँच वर्षअघि २०१७ मा यो काम गर्दा उनी ३० वर्षकी थिइन् । पुरुषको हकमा यो कीर्तिमान हाल १८ वर्षीय पाइलट ट्राभिस लुडलोको नाममा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार