श्रीमतीको हत्या गरी घरमै गाडेको आरोपमा श्रीमान पक्राउ

धनकुटामा श्रीमतीको हत्या गरी घरभित्रै गाडेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

धनकुटा नगरपालिका(४ छारागाउँकी ५२ वर्षीया सीता श्रेष्ठको हत्या गरेको आरोपमा ५२ वर्षीय सीताराम भन्ने सीताकुमार श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

उनका अनुसार सीता पुस १६ गतेदेखि बेपत्ता थिइन् । घरायसी विवाद भएपछि उनी घरबाट बेपत्ता भएको भन्ने जानकारी प्रहरीलाई आएको थियो । त्यसकै केही दिनपछि पुस १९ गते सीताराम पनि बेपत्ता भएका थिए । यसरी दुवै बेपत्ता भएपछि भदाहा नाता पर्नेले प्रहरीमा हुलियासहितको उजुरी दिएका थिए । ‍

त्यसपछि प्रहरीले पुस २३ गते कुकुरसहितको टोलीले अनुसन्धान गरेको थियो । ‘डग स्नाइपिङ’ गराउँदा पनि प्रहरीले केही फेला पारेन । त्यसपछि प्रहरीले श्रीमानमाथि शंका गरेर अनुसन्धान अघि बढाएको थियो ।

खोज्ने क्रममा उनलाई प्रहरीले आइतबार ललितपुरको बाँडेगाउँमा फेला पारेको हो । उनलाई प्रहरीले नियन्त्रणमा लिई धनकुटा लगिएको थियो ।

उनीमाथि सोधपुछ गर्दा आफैंले श्रीमतीको हत्या गरेकोबारे खोलेका हुन् । उनले आफ्नी श्रीमतीको हत्या गरी घरकै भुइँ तलामा गाडेको बयान दिएका थिए ।

त्यसैको आधारमा प्रहरीले उनको शव फेला पारेको हो । श्रीमती सीताको शव सडेर गलिसकेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

सीतारामले श्रीमती सीतामाथि कुटपिट गर्दा ज्यान गएको र घरमै गाडिदिएको बयान दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार