हिमपात र चिसोले रोकियो सिमकोट विमानस्थलकाे कालोपत्रे

हिमपातपछि बढेको अत्याधिक चिसोले हुम्ला सिमकोटस्थित विमानस्थल निर्माणको काम प्रभावित भएको छ । चिसोले विमानस्थल कालोपत्रे र नयाँ एप्रोन निर्माण रोकिएको निर्माण कार्यमा संलग्न तेण्डी शेर्पाले बताए ।

विमानस्थलभित्रको एप्रोन निर्माण कार्य सकिएर कालोपत्र गर्ने काम भइरहेको बेला हिमपात र चिसो बढेपछि रोक्नु परेको शेर्पाले बताए । जिल्लामा तापक्रम माइनस ११ डिग्री भन्दामाथि बढ्दै जान थालेपछि काम नहुने भएकाले बन्द गरेको नागरिक उड्डयन प्राधिकरण सिमकोट विमानस्थल निर्माण आयोजनाका साइट इन्चार्ज अजयकुमार गुप्ताले बताए ।

विमानस्थल निर्माण योजनाको ६० प्रतिशत कार्य सम्पन्न भए पनि मुख्य काम कालोपत्रे भएका कारण चिसोले गर्दा बन्द गरेको प्राधिकरणका गुप्ताले बताए । एप्रोन निर्माणका लागि निर्माण कम्पनी एपेक्स द ग्याल्भा क्यारा भ्यान जेभिसँग आर्थिक वर्ष ०७५/०७६ मा निर्माणका लागि सम्झौता भएको थियो ।

यस्तै, एप्रोनमा कालोपत्र गर्ने ३५ प्रतिशतका काम सम्पन्न भएको छ भने ६५ प्रतिशत काम रोकिएको उनले बताए । चिसोमा कालोपत्रे सेट नहुने भएका कारण अन्य काम सम्पन्न भए पनि कालोपत्र रोकेको उनले बताए । झण्डै एक महिनादेखि कालोपत्र रोकिएका छ भने बर्खा लागेपछि मात्रै सुरू हुने भएको गुप्ताले जानकारी दिए ।

विमानस्थलमा हालको एप्रोनले जहाजलाई पार्किङमा समस्या देखिएपछि नयाँ एप्रोनको निर्माण थालिएको होे । विगतमा कोरोनाको समस्याले काम रोकिएको र गत असोजबाट सुरू भएको काम अहिले चिसोले काम अगाडि बढ्न नसकेको हो ।

विमानस्थल निर्माण आयोजनाका लागि १९ करोड लागतमा निर्माण कम्पनीसँग आयोजनाले सम्झौता गरेको छ । नयाँ एप्रोनको कार्य सम्पन्न भएपछि चार वटा साना जहाजलाई पार्किङ गर्न सहज हुने विमानस्थलले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार