मन्त्रीनिवास सजाउन २४ करोड खर्चिने तयारी

आम नागरिकले कोभिडविरुद्धको खोप पाएका छैनन्। उपचार नपाएर अकालमा मृत्यु हुनेको संख्या पनि उल्लेख्य छ। सडक, सिँचाइलगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सकेको छैन।

तर सरकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ खर्चिने तयारी गरेको छ। छँदाछँदैको मन्त्री क्वार्टर को सट्टा नयाँ निर्माण थाल्दा राजनीतिक नेतृत्वको चर्को आलोचना भएको थियो। आम नागरिकको आलोचनाबीच सरकारले १ अर्ब ३ करोड रुपैयाँको लागतमा ललितपुरको भैंसेपाटीमा २७ वटा मन्त्री क्वार्टर निर्माण गरिरहेको छ।

१ अर्ब रुपैयाँभन्दा बढी रकम खर्चिएर आवास बनाइरहेको विशेष भवन निर्माण परियोजनाले ती भवनको आन्तरिक सजावटमा मात्र करिब २४ करोड रुपैयाँ थप खर्च गर्ने भएको हो। आगामी दसैंसम्म नयाँ आवासमा मन्त्रीलाई सार्ने योजना बनाएको परियोजनाले आन्तरिक सजावटमा मोटो रकम खर्चन लागेको हो।

निर्माणाधीन मन्त्री क्वार्टरकोे ‘इन्टेरियर डिजाइन’देखि अन्य सजावटका सामग्री खरिदका लागि २४ करोड रुपैयाँको बजेट बनाएको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले जनाएको छ। २४ करोडमा इन्टेरियर डिजाइनदेखि मन्त्री क्वार्टरका फर्निचर, बेड, मिटिङ हलका कुर्चीदेखि पर्दा, किचन सामग्रीलगायत रहेको आयोजनाका निर्देशक दिलीपशेखर श्रेष्ठले बताए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार