माओवादी नेता पुन सोमबार नेपाल फर्किदै

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन लामो समयको उपचारपछि स्वदेश फर्किने भएका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफू स्वदेश फर्किन लागेको जानकारी गराएका हुन् । बैंकक र चीनको लामो उपचारपछि स्वास्थ्य लाभ गरेर नेपाल फर्किन लागेको उनको भनाइ छ।

‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किदै छु’, नेता पुनले फेसबुकमा लेखेका छन् । असोज १३ गते पुन उपचारका लागि थाइल्याण्ड गएका हुन् । लामो समयदेखि कमलपित्त रोगबाट पीडित पुन थाइल्याण्डबाटै मंसिर २० गते थप उपचारका लागि चीन गएका हुन् ।

पुनको स्वास्थ्य समस्या के हो ?
नेता पुनलाई कमलपित्तको मात्रा बढेर वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि सुरुमा ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो । कमलपित्तको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए ।

उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशानुगत रुपमा सङ्क्रमण भएको कमलपित्तले दुःख दिने गरेको छ । पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन पूर्वसभामुख एवम् पत्नी ओनसरी घर्तीसँग उपचारका लागि बैंकक हुँदै चीन पुगेका थिए । नेता पुनको स्वास्थ्यमा लामो समयदेखि समस्यमा देखिएको हो । २०७३ साल फागुनमा राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा नौ दिनसम्म उपचार गर्दासमेत उच्च ज्वरो, टाउको दुख्ने र वान्ता हुने समस्या ठिक नभएपछि नेता पुनलाई सोही समय उपचारका लागि थाइल्याण्ड लगिएको थियो ।

सबैभन्दा पहिला भारतको अपोलो अस्पतालमा उपचार गराउनु भएका पुनको रोग पत्ता नलागेपछि नेपाल फर्काइएको थियो । पुनको परिवारमा जन्डिसको समस्या वंशाणुत रुपमै देखिएको चिकित्सकले बताएका छन् । उनका एक भाइको जन्डिसकै कारण मृत्यु भएको थियो । बुबामासमेत समान समस्या देखिएकाले चिकित्सकले यसलाई वंशाणुगत समस्या भनेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार