कणाली नदीमा निर्माण भएको बेलिब्रिज जडान नहुँदै भत्कियो

हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने मुगु कणाली नदीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज भत्किएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १,३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज जडान गर्ने क्रममा शुक्रबार राति भत्किएको हो ।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंगशाहीले गएको वर्षको चैत महिनाको ५ गते सो पुलको शिलान्यास गरेका थिए । पुस मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने बेलिब्रिज भत्किदा निर्माण कार्य अझै पछि धकेलिएको छ ।

बेलिब्रिज भत्किँदा जडानमा अझै समय लाग्ने कम्पनीका प्रतिनिधी बखत बहादुर मल्लले बताए । बेलिब्रिज निमार्णका लागि जलब रवि चक्र जेवि निमार्ण कम्पनीले नगरपालिकासँँग सम्झौता गरि निर्माण कार्य तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो ।

भत्केको बेलिब्रिज जडान गर्न एक सातादेखि १२ दिन लाग्ने मल्लको भनाई छ । भत्केको बेलिब्रिजमा मानवीय क्षति भने भएको छैन । भत्किएको बेलिब्रिजलाई ठड्याउन २ वटा मेसिन लगाइएको छ । पुलको बीचको भाग बाङ्गगिएर काम नलाग्ने भएको छ । सो स्थानमा अरु नयाँ भौतिक संरचना जडान गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

नगरपालिकालाई हस्तान्तरण गर्ने अवस्थामा रहेको पुल एक्कासी भत्किँदा हस्तान्तरण गर्न ढिलाई हुने उनले बताए । ५ करोड २० लाख ५५ हजार ९०२ रुपयाँको लागतमा बन्ने यो बेलिव्रिजको लम्बाई ५५ मिटर छ ।

ग्रामिण पहुचकार्यक्रम (-याप ३) ले मुगु जिल्लाको सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको चंखेली गाउँपालिका देउलीसम्म जनताको सहभागीतामार्फत सडक बनाए पनि मुगु कर्णालीमा पुल नहुँदा यो सडक संचालनमा समस्या हुँदै आएको थियो ।

मुगु कणालीमाथि बेलिब्रिज निर्माण भएमा केही बस्तिका साथै हुम्ला जिल्लाका चंखेली, सर्केगाढ, अदानचुली, खार्पुनाथ, सिमीकोट गाँउपालिकाका स्थानीयसम्म समयमै सडक पुग्ने अवस्था थियो, तर जडान कार्यमै पुल भत्किँदा अलि लामो समय लाग्ने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार