माओवादी बैठकः एमसीसीबारे सुझाव दिन कार्यदल गठन

जनपरिचालनको जिम्मा प्रचण्डलाई

नेकपा (माओवादी) केन्द्रले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव दिन कार्यदल गठन गरेको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले एमसीसीको बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार अब कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित एमसीसी अघि बढ्ने छ ।

त्यस्तै, बैठकले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकालाई जिताउन नेताहरुलाई निर्देशनसमेत दिएको छ। पार्टीका बाँकी रहेका संगठनात्क कामहरू टुंग्याउने र कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा चुनावको विषयमा पनि छलफल भएको छ । चुनाव सकेसम्म कम खर्चमा र तीन वटै चुनाव एकैपटक गर्नेमा छलफल चलिरहेकाे प्रवक्ता महराले जानकारी दिए । ‘तीनवटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफल गर्ने भन्ने भएको छ । निर्वाचन आयोग, पत्रकार, बुद्धिजीवीहरूको रायअनुसार कानुनविद्सँग छलफल गरेर निष्कर्षमा पुगिने छ,’ उनले भने ।

यसअघि माओवादी अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनको बैठकमा वैशाखमा संसदीय चुनाव गरेर संविधानको धारा २२५ अनुसार स्थानीय तहको चुनाव ६ महिनापछि अर्थात मंसिरमा गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर शुक्रबारको गठबन्धनको बैठकमा भने उनको प्रस्तावमा छलफल भएन । स्थानीय तह निर्वाचन कहिले गर्ने तय गर्न कानुन विद्सँग परामर्श लिने निर्णय भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार