प्रधानमन्त्रीको सम्बोधनबारे योगेशको १२ बुँदे टिप्पणी- सरकार पूर्णत: असफल भएको घोषणा !

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले शुक्रबार प्रधानमन्त्रीले देशबासीका नाममा गरेको सम्बोधनलाई ‘लाजको पसारो’को संज्ञा दिएका छन् ।प्रधानमन्त्रीका वक्तव्यले नै सरकार असफल भएको स्वीकारेको भन्दै उनले १२ बुँदामा टिप्पणी गरेका छन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा हिजो गरेको सम्बोधन सुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको बिरामीको अवस्थामा पुगेको आभाष भएको उल्लेख गरेका छन्।

फेसबुकमा भट्टराईले लेखेका छन्, ’प्राण र उत्साह नभएको वक्तव्य, त्यसमाथि पनि कोरोना तेस्रो लहरले पूरै नागरिकलाई लपेटी रहेको र अबको केही हप्ता अत्यन्तै भयावह अवस्था सिर्जना हुने प्रक्षेपण भइहको सन्दर्भमा त्यसबाट आफ्ना नागरिकहरुलाई जोगाउनु, त्यसको असरका बीच अर्थतन्त्र र समाजिक जीवनलाई निरन्तरता दिने सन्दर्भमा वक्तव्य पूरै निराशाजनक रहेको छ ।’

योगेश भट्टराईका१२ बुँदे टिप्पणी :

१. माघ ७ गतेबाट सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य भनी आदेश जारी गर्ने सरकारले अहिले पनि ६०५ नागरिकलाई खोप दिन सकेको छैन । खोप–खोप र खोप भन्दै सत्ता रोहण भएका प्रधानमन्त्रीले पौष सम्म दुई तिहाइलाई र चैत्र सम्ममा सबैलाई खोप दिन उहाँकै पूर्व घोषणा हावा खान पुगेको छ र आजको वक्तव्यमा त्यसको विश्वासिलो आधार केही देखिँदैन। बुस्टर डोज त झन् कहिले सबैले पाउने हुन् अत्तोपत्तो छैन ।

२. अहिले सम्म १८ वर्ष मुनिका बालबालिका मध्ये अधिकांश खोप पाएर स्कुल कलेज सुचारु हुनुपर्नेमा त्यो सुरसार छैन । त्यस उमेर समुहका लागी खोपको प्रबन्ध गर्ने कुनै कार्ययोजना छैन ।

३. प्रत्येक दिन ५ लाख व्यक्तिलाई खोप लगाउने घोषणा गरेको सरकारले मुस्किलले २ लाख पनि पुरा गर्न सकेको छैन । खोप केन्द्रमा देखिएको भिडभाडले खोप केन्द्र सङ्क्रमणको थलो बनी रहेका छन् । खोप केन्द्रको बिस्तार गर्ने, नागरिकहरूलाई सहज र सरल ढङ्गले खोपप्राप्त गर्ने वातावरण बनाउने र बृद्धबृद्धा, गर्भवती महिला, बालबालिका, अपाङ्ग, र अशक्तहरूलाई घर–घरमै खोप सेवा पुर्‍याउने कार्ययोजना प्रधानमन्त्रीको वक्तव्यमा छैन ।

४. खोपको गुणस्तरीयता, भण्डारण व्यवस्था, आपूर्ति व्यवस्थाका बारेमा विज्ञहरूबाट पट्क पट्क प्रश्न उठ्दै आएको छ त्यसको चित्तबुझ्दो जवाफ र योजना सुन्न पाइएन । गायब २४ लाख डोजको खोजीनिती गर्ने र गल्ती गर्नलाई कारबाही गर्ने कुरा त झन् छदैछन् । थप २० लाख डोज खोपको अभिलेख नै छैन ।

५.तेस्रो लहरमा आजका दिनमा करिब एक हजार स्वास्थ्यकर्मीहरू स्वयम सङ्क्रमित भएका छन्। यो सङ्ख्या प्रत्येक दिन थपिँदै जानेछ । उनीहरूलाई उपचार गरी काममा फर्काउन, थप स्वास्थ्यकर्मीलाई सङ्क्रमित हुनबाट जोगाउन, उनीहरुले पाउनु पर्ने जोखिम भत्ता उपलब्ध गराउन, स्वास्थ्यकर्मीहरूको मनोबल बढाउन र पर्याप्त मात्रामा जनशक्तिको व्यवस्थामा कुनै योजना र प्रतिवद्धता प्रधानमन्त्रीको वक्तव्यमा देखिएन

६. स्वास्थ्य जनशक्तिको थप प्रबन्ध र स्वास्थ्य पूर्वाधारमा कतै पनि प्रतिवद्धता देखिएन । उल्टै अघिल्लो सरकारले विनियोजन गरेको बजेट कटौती गरिएको छ ।

७. लाखौँ नागरिकले पाउनु पर्ने कोरोना बिमा बापतको रकम विमितहरुले कहिले पाउँछन् ? एक शब्द पनि बोलिएको छैन ।

८. ट्रेसिङ, स्टेरिङ, आईसोलेस, होल्डीङ, ट्रिट्मेन्ट जस्ता अनिवार्य दायित्वबाट सरकार भागिसकेको छ ।

९. कोरोनाबाट उत्पन्न नकारात्मक परिस्थितिबाट मुलुकको अर्थतन्त्रलाई कसरी जोगाउने र वैकल्पिक रोजगारीका माध्यमबाट तल्लो वर्गलाई रोजी–रोटीबाट वञ्चित हुन नदिने भन्ने बारेमा कुनै भरपर्दो योजना नै छैन ।

१०. आजसम्म पिसिआर टेस्ट र उपचारमा मात्र नागरिकको तर्फबाट अर्बौ अरब पैसा खर्च भैसकेको छ । अब सर्वसाधारणको खल्ती रित्तो भइसक्यो । सङ्क्रमण र महामारीमा सरकारले खर्चको दायित्व बोक्नु पर्छ तर प्रधानमन्त्रीलेले कोरोनाको टेस्ट र उपचार निःशुल्क गर्नु पर्ने संवैधानिक दायित्वलाई पुरै बेवास्ता गर्नु भएको छ ।

११. कोरोनाको बारेमा विज्ञहरूको राय अनुसार चल्ने, अध्ययन अनुसन्धान गर्ने , राजनीतिक समन्वय र परिचालन गर्ने, तिन तहका सरकारबिचमा कार्यमूलक सम्बन्ध स्थिापीत गर्ने र आम जनतालाई विश्वासमा लिने सवालमा सरकार पुरै असफल साबित भएको छ ।

१२.प्रधानमन्त्रीको वक्तव्यले थप लाजको पसारो भएको छ । यो वक्तव्य सरकार पुर्णत असफल भएको स्वयमको घोषणा हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार