स्थानीय तह निर्वाचनबारे सत्ता गठबन्धनले कानुन विज्ञसँग छलफल गर्ने

सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुकी बसेको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले स्थानीय तह निर्वाचनबारे देखिएको कानुनी अस्पष्टताबारे संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचनबारे कानुनी अस्पष्टता देखिएको भन्दै संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनले भने, ‘संविधानमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र अर्को निर्वाचन गर्ने भन्ने छ तर निर्वाचन ऐनमा भने कार्यकाल सकिनु २ महिनाअगावै निर्वाचन गरिसक्नु पर्ने उल्लेख छ । कुन कुरालाई मान्ने भन्ने विषयमा संविधान र कानुनका विज्ञसँग छलफल गर्ने बैठकमा निर्णय भयो ।’

नेपाली कांग्रेसका नेता समेत रहेका कार्कीका अनुसार समन्वय समितिमा तीनै तहको निर्वाचन एकैपटक गर्दा के हुन्छ भनेर पनि छलफल चलेको छ । एकाध दिनमा यो छलफल निष्कर्षमा पुग्ने उनले सुनाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार