हुम्लामा खाद्यान्न अभाव : चार केजी चामलका लागि नागरिकता पेस

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले झन्डै चार महिनापछि खाद्यान्न ढुवानी सुरु गरेको छ ।

टेन्डर प्रक्रियामा ढिलाइ र अनियमितता भएको भन्दै अदालतमा मुद्दा परेपछि चालु आर्थिक वर्षका लागि कम्पनीले बल्ल चामल ढुवानी सुरु गरेको हो । समयमै चामल ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट वञ्चित हुँदा यहाँका नागरिक मर्कामा पर्दै आएका छन् ।

प्रत्येक महिना पाउनुपर्ने भए पनि समयमै ढुवानी नहुँदा यहाँका नागरिक चामल पाउनबाट वञ्चित बनेका हुन् । भौगोलिक रूपमा विकट हुम्लामा कम्पनीले समयमै चामल ढुवानी नगरिदिँदा करिब ६० हजार सर्वसाधारण समस्यामा परेका छन् । कमिसनको खेलले चार महिना बित्दा समेत चामल ढुवानी हुन नसकेको बताइएको छ ।

हुम्लाका लागि चालु आर्थिक वर्षमा २७ हजार ५ सय क्विन्टल चामलको कोटा स्वीकृत भएको छ । यसमा हवाईमार्गबाट १० हजार र स्थलमार्गबाट १७ हजार ५ सय क्विन्टल चामल ढुवानी गर्ने गरी कोटा स्वीकृत भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको निर्देशनपछि सबै जहाज कम्पनीले चामल ढुवानीलाई तीव्रता दिएका छन् । अहिलेसम्म एक हजार ३४२ क्विन्टल चामल हवाईमार्ग र एक हजार १३१ क्विन्टल चामल स्थलमार्गबाट ढुवानी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि आएको चामलबाट अहिलेसम्म १२ सय ७३ क्विन्टल चामल वितरण गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष कम्पनीको गोदाममा करिब ३५ सय क्विन्टल चामल मौज्दात थियो । अहिले कम्पनीको सिमकोट गोदाममा करिब १२ सय क्विन्टल चामल मौज्दात रहेको कम्पनीको शाखा कार्यालयले जनाएको छ । कम्पनीले सिमकोट बजारस्थित सिमकोट–५ र ६ का स्थानीयवासीलाई मासिक प्रतिपरिवार ५ किलो र सिमकोट गाउँपालिकाका अरू वडाका बासिन्दालाई ४ किलोका दरले चामल वितरण गर्ने गरेको छ । अन्य गाउँपालिकामा भने मागका आधारमा चामल पठाइने गरिएको बताइएको छ ।

सीता एयरलाई मात्र ढुवानीको जिम्मा दिँदा कम चामल ढुवानी भएको भन्दै मुख्यमन्त्री शाहीले सबै जहाज प्रयोग गर्न ठेकेदार कम्पनी र कम्पनी लिमिटेडलाई निर्देशन दिएका थिए । तर कम्पनीको हुम्ला शाखाको गोदाममा चामल मौज्दात कम भएपछि शुक्रबारबाट चामल वितरण रोकिएको छ । अहिले कम्पनीको सिमकोट गोदाममा करिब १२ सय क्विन्टल चामल मौज्दात रहेको कम्पनीका हुम्ला कार्यालय प्रमुख विष्णुप्रसाद अधिकारीले बताए । “स्थानीयवासीले कोटाअनुसारकै चामल माग्न थाले”, उनले भने, “कोटाअनुसार चामल दिँदा गोदाम रित्तिने देखियो ।”

चार महिनापछि बल्ल चामल वितरण गरेको भएपनि स्थथानीयवासीले एक महिनाको मात्रै चामल पाउने भएका छन् । कम्पनीको कोटाको सस्तो मूल्यमा खरिद गर्न पाउने खाद्यान्न नपाएपछि यहाँका सर्वसाधारणलाई बजारमा महँगो मूल्य तिरेर खाद्यान्न खरिद गर्नु परेको थियो ।

चार केजी चामलका लागि नागरिकता पेस
चामल लिन लिमिटेडको शाखामा पुग्दा यहाँका नागरिकले आफ्नो परिचयपत्र खुल्ने नेपाली नागरिकता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने बाध्यता जस्तै बनेको छ । नागरिकता पेस नगर्दा चामल नपाइने भएको स्थानीयवासीको भनाइ छ । “सधैँ चामल लिन वडाले दिने रासन कार्ड भए हुन्थ्यो, यो पटक नागरिकता अनिवार्य गरेको छ, यसले गर्दा सोझा सर्वसाधरणलाई थप झन्झटिलो बनेको छ ।”

चामल पाउनका लागि लाइनमा बस्नुपर्ने बाध्यता छँदै छ । फेरि अर्को झन्झट नागरिकताको फोटोकपी बुझाउनुपर्ने स्थित छ । अनुदानमा ढुवानी भएर आएको चामल लिनका लागि आफ्नो नागरिकता दिनुपर्ने यो कस्तो नियम हो भन्दै अर्का स्थानीयवासी जानकी भण्डारीले गुनासो पोखे । आफूहरु सर्वसाधरणलाई दुःख मात्र दिन खोजेको उनको भनाइ छ । गाउँबाट साढे दुई घण्टाको पैदल हिडेर लिमिटेडको शाखा कार्यालय सिमकोट पुग्नुपर्ने बाध्यता त छँदैछ । त्यसमा पनि चार केजी चामलका लागि यहाँका नागरिकका लागि नागरिकता प्रमाण पत्र धरौटी राखे जस्तै भएको छ । सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका नागरिकले यस अगाडि वडाले दिएको रासन कार्डले हुन्थ्यो भने अहिले नागरिकता पेस गर्नुपर्छ ।

प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चामल पाउने नागरिकहरु नदोहोरिऊन् र उनीहरुले चामल पाए÷नपाएको विवरण राख्नका लागि नागरिकता अनिवार्य गरेको बताए । गाउँघरका सबै नागरिक चामल पाउनबाट कोही नछुटून् भन्नका लागि उनीहरुको नागरिकता माग गर्ने निणर्य भएको बताए । नागरिकता अनिवार्य नगर्दा बीचमा कोहीले दुई तीनवटा रासन कार्डसमेत बनाएर अनियमितता हुन सक्छ कि भने यसो गरिएको छ, उनले भने ।

नेपालगञ्ज र सुर्खेतबाट हवाई ढुवानी गरी ६ हजार क्विन्टल आउनुपर्ने, श्रीनगर डिपोमा खच्चरबाट पनि छ हजार क्विन्टल खाद्यान्न आउनुपर्नेमा हिमपातका कारण आउन नसकेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

सीता एयरले ढुवानीमा ढिलाइ गर्दा चामल अभाव
हुम्लाका लागि खाद्यान्न ढुवानी गर्ने जिम्मा पाएको निजी सीता एयरले समयमै ढुवानी नगर्दा यहाँका नागरिक चार महिनादेखि चामल पाउनबाट वञ्चित बनेका हुन् ।

विगतका वर्षमा सीता, तारा र समिट एयरलाइन्स सबैले खाद्यान्न ढुवानी गर्दा यसरी अभाव झेल्नु परेको थिएन तर यो पटक सीता एयरले दैनिक ढुवानीमा वास्ता नगर्दा थप समस्या निम्तिएको हो । सीता एयरलाइन्सले घटीमा २१ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेमा केहीमात्रामा खाद्यान्न मात्र आएको कार्यालय प्रमुख अधिकारीले बताए । साउन, भदौ र असोज महिनामा भने अघिल्लो वर्षको मौज्दात खाद्यान्नबाट बिक्री गरिएको थियो । त्यसपछि बिक्री गर्न नसकिएको उनको भनाइ छ ।

शाखाबाट तीन हजारभन्दा बढी मासिक रुपमा खाद्यान्न पाउने ग्राहकहरु रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार