काठमाडौं उपत्यकामा कति छन् कोरोनाका सक्रिय संक्रमित ?

काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बनेको छ । दैनिक देशभर पुष्टि हुने कोरोना संक्रमितको संख्यामध्ये आधि उपत्यकाका हुने गरेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ३३८ जना कोरोनाका नयाँ संक्रमित थपिदाँ काठमाडौं उपत्यकाका मात्रै ६ हजार ९८१ जना छन् ।

जसमध्ये काठमाडौंमा पाँच हजार एक, ललितपुरमा एक हजार १३० र भक्तपुरमा ८५० जनामा कोरोना संक्रमण देखिएको हो ।

बिहीबारसम्म पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका १४ जिल्लामध्ये उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर पनि परेका छन्।

उपत्यकाभित्र सक्रिय संक्रमितको संख्या ३७ हजार ९३ पुगेको छ । सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौं जिल्लामा २६ हजार २९८ छन् भने ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंमा कोरोना सुरु भएयता संक्रमितको कुल संख्या २ लाख ८४ हजार ७२२ पुगिसकेकोमा हालसम्म २ लाख ५५ हजार ७७८ जना निको भएका छन् भने २ हजार २४६ जनाको मृत्यु भएको छ।

यस्तै, ललितपुरमा कुल संक्रमित ५७ हजार ९९४ मध्ये ५० हजार ६६९ जना संक्रमणमुक्त भएका छन् भने ७१३ जनाको मृत्यु भएको छ । भक्तपुर जिल्लामा ३३ हजार ९८० कुल संक्रमितमध्ये २९ हजार ७५८ जना निको भएका छन् । त्यहाँ ४३९ जना संक्रमितको ज्यान गइसकेको छ।

उपत्यकामा कोरोनाका बिरामीमध्ये विभिन्न अस्पतालमा ६३ जना आईसीयूमा उपचाररत छन् भने १४ जना भेन्टिलेटरमा अक्सिजनको सहारामा छन ्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार