पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।अब नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल–मटितेलको १०४ रुपैयाँ तय गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । खाना पकाउने एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा मूल्य भने यथावत नै कायम राखिएको निगमले जनाएको छ ।

यस्तै आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए । मूल्य समायोजनपश्चात् पनि भारतीय सीमा रक्सौलसँग जाडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २९.२३ रुपैयाँ र डिजेल ३५.४१ रुपैयाँ सस्तो रहेको निगमले बताएको छ । यसअघि चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो । इण्डियन आयल कर्पोरेशनले आज पठाएको मूल्यसूचीअनुसार नै मूल्य समायोजन गरिएको जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार