राष्ट्रियसभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड (विज्ञप्तिसहित)

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको छ । कोरोना महामारीको बेला हुन गइरहेको निर्वाचनलाई मध्यनजर गर्दै आयोगले स्वास्थ्य मापदण्ड लागू गरेको हो ।

मापदण्डअनुसार मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाणपत्र देखाउनुपर्नेछ । साथै, मास्क अनिवार्य रुपमा लगाउनुपर्नेछ ।

मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था समेत गर्न आयोगले निर्देशन दिएको छ ।

यस्तै मतदान स्थलमा तापक्रम मापन गर्ने थर्मल गन र आवश्यक स्वास्थ्य सामग्री सहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कको व्यवस्था गर्न समेत आयोगले निर्देशन दिएको छ । भौतिक दूरी कायम गर्न, अनावश्यक भिडभाड हुन नदिन, मतदान स्थलमा अनिवार्य रूपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्सको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

यही माघ १२ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार