निर्माण भएको डेढ वर्षसम्म प्रयोगविहीन छ इलाम बसपार्क

निर्माण भएको डेढ वर्ष बित्दा पनि इलाम बसपार्क सञ्चालनमा आउन सकेको छैन । सम्बन्धित निकायले चासो नदेखाउँदा करोडौँ रकम खर्चेर इलाम नगरपालिका ९ शेरामा निर्माण गरिएको बसपार्क हालसम्म पनि सञ्चालनमा आउन नसक्दा स्थानीयवासी चिन्तित छन् ।

स्थानीय दाताहरुले बसपार्क निर्माणका लागि साढे १० रोपनी जग्गा निशुल्क उपलब्ध गराए पनि बसपार्क सञ्चालन नहुँदा उनीहरू चिन्तित भएका हुन् । विसं २०७३ असार १६ मा ठेक्का सम्झौता भई निर्माण शुरु भएको बसपार्क २०७७ साल जेठमा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । नगरपालिकाको स्वामित्वमा आएपछि बसपार्क सञ्चालन हुने आशा गरेका नगरवासी एकाएक अर्कै प्रयोजनमा ल्याउन लागेको थाहा पाएपछि आश्चर्यमा परेका छन् ।

सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले बसपार्क निर्माणका लागि प्रथम चरणममा रु एक करोड आठ लाख र दोस्रो चरणमा रु तीन करोड ४ लाख गरी जम्मा रु चार करोड १२ लाख खर्च गरेको बताइएको छ ।

हाल नगरपालिकाले निजी जग्गा भाडामा लिएर बसपार्क सञ्चालन गरिरहेकाले सम्पन्न भइसकेको बसपार्क सञ्चालन नगरेको भन्दै नगरबासीले विरोध जनाउन थालेका छन् ।

हाल सो स्थानमा नगरपालिकाले ९ नम्बर वडा कार्यालय सञ्चालन गरिरहेको र अब कृषि क्याम्पस सञ्चालनको तयारी गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार