सीसीएमसी बैठक: सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

डान्सबार र दोहोरीसाँझ पूरै बन्द, रेष्टुरेन्ट राति १० बजेपछि

कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सहरी क्षेत्रका विद्यालय आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा शनिबार बसेको सीसीएमसी बैठकले भाइरस संक्रमणको रोकथामका लागि सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो । कोरोना नियन्त्रण र रोकथामका सम्बन्धी आदेश २०७८ माथि छलफल भएको र आदेशमा वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरिएको मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिए ।
उनले यस विषयमा स्थानीय तहले नै निर्णय गर्नुपर्नेमा सीसीएमसीको जोड रहेको बताए । मन्त्रिपरिषद् बैठकले सिफारिसलाई अनुमोदन गरेपछि विद्यालय बन्दको निर्णय कार्यान्वयन हुनेछ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्नेबारे प्रस्ताव पेस गरे पनि मन्त्रिपरिषद्बाट निर्णय हुन सकेको थिएन ।
बैठकले कोरोनाको दोस्रो चरणको महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्यमा जुट्न सम्बद्ध सबै पक्षलाई निर्देशन दिने निर्णय गरेको छ । पहिले सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै जाने, मास्क तथा स्यानिटाइजर लगाउने, समुदाय, टोलमा स्थानीय निकायले जनचेतना फैलाउने लगायत काममा जोड दिइएको सचिव बरालले बताए ।
यस्तै बैठकले कोरोनाको जोखिम उच्च हुँदै गएपछि सरकारले डान्सबार दोहोरी साँझहरू अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गर्नुपर्ने निष्कर्ष निकालेको छ । रेष्टुरेन्टहरुको हकमा भने सुरक्षा मापदण्ड अपनाएर राति १० बजेसम्म खोल्न दिने र त्यसपछि भने बन्द गर्नुपर्ने सीसीएमसीको सिफारिस छ । यसअघि स्वास्थ्य मन्त्रालयले गत चैत २५ गते जारी गरेको अपिलमा राति ९ बजेपछि रेस्टुरेन्ट बन्द गर्न अपिल गरिएको थियो ।
बैठकमा जनस्वास्थ्य मापदण्डमा कडाइ गर्ने तथा विभिन्न सेवा सञ्चालनका विधिबारे छलफल भएको र आवश्यक निर्णयका लागि मन्त्रिपरिषद् समक्ष सिफारिस गरिएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार