ट्वान्टी-२० विश्वकप छनोटका लागि १६ खेलाडीको नाम सार्वजनिक

सोमपाल र विनोद भण्डारी परेनन्

नेपाल क्रिकेट संघ(क्यान) ले आईसीसी ट्वान्टी-२० विश्वकप छनोटका लागि १६ खेलाडीको नाम सार्वजनिक गरेको छ । ओमानमा आगामी फेब्रुअरी १५ देखि आयोजना हुने प्रतियोगिताका लागि क्यानले १६ जनाको अन्तिम सूची सार्वजनिक गरेको हो ।

टिममा प्रधानमन्त्री कपमा उत्कृष्ट खेलेका खेलाडीले स्थान पाएका छन् । टिममा तीव्र गतिका बलर सोमपाल कामी समावेश छैनन् । उनले प्रधानमन्त्री कपमा प्रभावकारी खेल देखाउन सकेका थिएनन् । यस्तै टिममा विकेटकिपर विनोद भण्डारी पनि परेका छैनन् ।

विवेक यादव र लोकेश बम पहिलोपटक राष्ट्रिय टोलीमा समावेश गरिएको छ ।  त्यस्तै प्रदीप ऐरी झन्डै ३ वर्षपछि टिममा फर्किएका छन् ।

नेपालले विश्वकप छनोटको समूह चरणमा ओमान, क्यानडा र बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । यस पटक नेपालले नयाँ कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस्पर्धा गर्नेछ । सन्दीप बिग बास लिग खेल्ने क्रममा अस्ट्रेलियामा रहेका छन् । उनी केही दिनमै नेपाल फर्किने बताइएको छ । उनले बुधबार जारी सिजनमा आफ्नो खेल टुंग्याएका छन् ।

होबर्ट हरिकेन्समा आबद्ध उनले जारी सिजनमा बुधबार मेलबर्न स्टारसँग अन्तिम खेल खेलेका हुन् । मेलबर्नले १०६ रनले जितेको उक्त खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ५२ रन खर्चिएका थिए ।

यस्तो छ नेपाली टिम

सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनास बोहरा, साहब अलाम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार