जाडो छल्न तापेको आगो शरीरमा सल्किँदा वृद्धाको मृत्यु

सर्लाही जिल्लाको दक्षिण क्षेत्र गोडैतामा तापेको आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका–११, निवासी देवकली देवीको आगोमा जलेर मृत्यु भएको हो ।

बुधबार साँझ आगो तापिरहेको अवस्थामा ७५ वर्षीया देवकलीको शरीरमा आगो सल्किएको थियो । आगोले शरीरको अधिकांश भाग जलेर उनी गम्भीर घाइते भएकी थिइन् ।

तत्काल उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याईएकी उनको उपचारको क्रममा गए राति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक वृद्धाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको आफन्तले बताएका छन् ।

पछिल्लो केही दिन यता जिल्लासहित तराईमा बढिरहेको चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको छ ।

विशेष गरी जाडो छल्न विपन्न परिवार आगो बालेर ताप्ने गरेका छन् । न्यानो कपडाको अभावमा कयौ‌ं परिवार रातिसमेत अगेना नजिकै आगोबालेर सुत्ने गर्छन् । त्यसरी आगो ताप्दा शरीरमा आगो सल्किएर यस्ता दुःखद घटना हुने गरेका छन् ।

केही साताअघि मात्रै सदरमुकाम मलंगवा नगरपालिकाको खुटौनामा पनि आगोले जलेर एक जनाको ज्यान गएको थियो ।

जाडो छल्न असुरक्षित रुपमा आगो ताप्दा ज्यानसमेत जाने भएकोले सावधानी अपनाउन स्थानीय प्रहरी प्रशासनले जिल्ला वासीमा आग्रह गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार