पार्टीको ह्‍वीप उल्लंघन गर्ने कर्णालीका तीन सांसद एमालेबाट निष्कासित

प्रकाश ज्वालालाई केन्द्रको जिम्मा

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका ३ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ । पार्टीको ह्वीप उल्लंघन गर्दै कर्णालीमा रहेको माओवादी सरकारको पक्षमा मतदान गर्ने नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई पार्टीबाट निष्कासित गरेको हो ।

एमाले कर्णाली प्रदेश कमिटिको शनिबारको बैठकले शुक्रबारदेखि नै लागू हुने गरी पार्टी कमिटीका सबै जिम्मेवारीबाट निष्कासन गरिएको अध्यक्ष गोरख बोगटीले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । यस्तै पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य समेत रहेका प्रकाश ज्वालालाई पार्टी पार्टी सदस्य समेत नरहने गरी निष्कासन गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको बोगटीले जानकारी दिए ।

प्रदेशसभा संसदीय दलले शुक्रबार गरेको निर्णयलाई समेत आधार बनाई उनीहरुमाथि कारबाही गरिएको वक्तव्यमा उल्लेख छ । ‘निजहरुलाई प्रदेशसभा सदस्य र पार्टीको कर्णाली प्रदेश कमिटी सदस्यबाट समेत निष्कासन गर्न भनी आएको सिफारिसलाई आधार बनाई शुक्रबारदेखि लागू हुने गरी पार्टी सदस्यसहित पार्टी कमिटिका सबै जिम्मेवारीबाट निष्कासन गरिएको र नेकपा एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निस्कासन गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ,’ वक्तव्यमा भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार