पर्वतारोहणबाट ४५ करोडभन्दा बढी रोयल्टी सङ्कलन

पर्वतारोहणका लागि उपयुक्त मानिने यस वर्षको वसन्त याममा हिमाल आरोहणबापत पर्यटन विभागले हालसम्म ४५ करोडभन्दा बढी रोयल्टी सङ्कलन गरेको छ । विभागको पर्वतारोहण शाखाका अनुसार शुक्रबारसम्म ४५ करोड १९ लाख ५५ हजार ४९४ रोयल्टी सङ्कलन भएको छ ।

हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ । यो अनुकूल मौसममा सगरमाथा सहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन् । सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायत उच्च हिमशृङ्खला आरोहीको रोजाइमा पर्छन् । वसन्तयामको आरोहणका लागि विभागले यही चैत २ देखि आरोहण अनुमति जारी गरेको थियो । चैत १३ मा सगरमाथा आरोहणको पहिलो ‘पर्मिट’ जारी भएको थियो ।

यस यामको सगरमाथा आरोहणका लागि मात्रै हालसम्म ३६ आरोही समूहका ८४ महिला र २६६ पुरुष गरी कूल ३३८ आरोहीले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्मराज भट्टराईले जानकारी दिए । सगरमाथापछि ल्होत्से हिमालका लागि ११ तथा अन्नपूर्ण र धौलागिरि हिमाल आरोहणका लागि समान चार–चार आरोही समूहले अनुमति पाएका छन् । त्यस्तै, नुप्सेमा तीन, अमादब्लङ र मकालुमा समान एक आरोही समूहले अनुमति लिएको विभागले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार