बर्जु महोत्सव तोडफोडबारे बोले खेसारीलाल, ‘मेरो चारवटा गाडी जलाइयो’ (भिडियो)

भन्छन्- दोषी आयोजक, मलाई क्षतिपूर्ति दिनुपर्छ

सुनसरीको बर्जू गाउँपालिका-६ स्थित चिमडीमा बर्जू महोत्सवमा भएको आगजनी र तोडफोडबारे भारतका भोजपुरी फिल्मका सुपरस्टार खेसारीलाल यादव बोलेका छन् ।

मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी नायक यादव आउने कार्यक्रम थियो । बिहानैदेखि टिकट काटेर बसेका दर्शकले अन्तिम समयमा यादव नआउने थाहा पाउनासाथ स्टेजमा आगो लगाएका थिए। उनीहरूले भारतीय ४ ओटा स्कार्पिओमासमेत आगो लगाए । आगलागीबाट टेबल, कुर्सी, साउन्ड सिस्टम जलेर पूर्ण रूपमा नष्ट भएको छ । तोडफोडबाट ठूलो जनधनको क्षति भएको बताइएको छ । घटनास्थललाई नियन्त्रणमा लिनका लागि  मोरङ र सुनसरीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

सोही विषयमा बुधबार बोल्दै यादवले कार्यक्रम आयोजकले आफूलाई धोका दिएको बताएका छन् । ‘म पटनाबाट नेपालको विराटनगरसम्म आउँदासम्म कोरोनाका कारण यहाँका प्रशासनले कार्यक्रम स्थगित गराएको आयोजकले मलाई कुनै जानकारी दिएन ।’ यादवले भने, ‘प्रशासनले अगाडि नै रोक्न निर्देशन दिएको रहेछ, तर मलाई गुमराहमा राखे । यसमा मेरो र प्रशासनको कुनै कमजोरी छैन ।’ उनले आफ्नो चारवटा गाडी जलाईदिएकोसमेत बताएका छन् । यादवले तोडफोडबाट डेढ करोडको क्षति पुगेको जानकारी पाएको भन्दै आयोजकले क्षतिपूर्ति दिनुपर्ने बताए ।

बर्जुतालको खेलमैदानमा पुस २४ गतेदेखि महोत्सवको आयोजना गरिएको थियो । मंगलबार महोत्सवको अन्तिम दिन थियो । कोरोनाको संक्रमण बढ्दै गएको भन्दै  जिल्ला प्रशासन कार्यालय सुनसरीले पत्र नै काटेर महोत्सव रोक्न भनेको थियो । तर, आयोजकले प्रशासनको निर्देशन अवहेलना गर्दै महोत्सव जारी राखेको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार