प्रदेश नं २ को नाम ‘मधेस’, स्थायी राजधानी ‘जनकपुरधाम’ कायम

प्रदेश -२ को नाम मधेश कायम भएको छ । प्रदेशसभाको सोमबारको बैठकले प्रदेशको नाम मधेशलाई बहुमतले पारित गरेको हो ।

प्रदेशसभामा भएको निर्वाचनमा मधेशको पक्षमा ८० मत खसेको हो । जुन दुई तिहाइ भन्दा बढी छ । विपक्षमा १९ मत परेको थियो । मतदानमा ९९ जना सदस्य सहभागि थिए । हाल प्रदेश नं २ को प्रदेशसभामा १०४ जना सांसद रहेकामा कुनै पनि प्रस्ताव पारित हुन दुई तिहाइ अर्थात् ७० मत आवश्यक पर्छ ।

मधेश नाममा जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी (लोसपा) नेपाल र नेकपा माओवादी केन्द्रको सर्मथन थियो । नेपाली काँग्रेसले मिथिला भोजपुरा र नेकपा एकिकृत समाजवादीले भने जानकी नाम प्रस्ताव गरेका थिए ।

जसपाका शैलेन्द्रकुमार यादव र माओवादी केन्द्रका भरतप्रसाद साह प्रस्तावक रहेको मधेस प्रदेशसम्बन्धी प्रस्ताव पारित भएपछि प्रदेशको नामसम्बन्धी अन्य प्रस्तावहरू स्वतः निष्क्रिय भएको सभामुख सरोजकुमार यादवले घोषणा गरे ।

यसअघि स्थायी राजधानी जनकपुरधाम बनाउने प्रस्ताव प्रदेशसभाका दुई तिहाइ बहुमत प्रदेशसभा सदस्यहरूले पारित गरिसकेकाे छ। ९९ मत खस्दा ७८ मत भने जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्तावको पक्षमा खसेको र उक्त सङ्ख्या दुई तिहाइभन्दा बढी भएकाले जनकपुरधाम राजधानी कायम भएको सभामुख यादवले घोषणा गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार