चन्द्रागिरिमा चक्कु प्रहार गरी पुरूषको हत्या, दुई दाजुभाइ पक्राउ

काठमाडौंको गुर्जुधारामा धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या भएको छ ।

महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज र अशोक बस्नेतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु दाजुभाइ हुन् ।

आइतबार दिउँसो पौने १ बजे रिजालको छातीमा धारिलो हतियार प्रहार भएको थियो । त्यसपछि उनी घाइते भएका थिए ।

घाइते भएको खबरपछि महानगरीय प्रहरी प्रभाग बलम्बु, प्रहरी वृत्त थानकोट र परिसरबाट टोली खटिएको थियो । उनलाई तत्कालै प्रहरीले नजिकैको सशस्त्र प्रहरी बल अस्पतालमा लगिएको थियो । त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

प्रहरी उपरीक्षक मैनालीका अनुसार एक जनालाई आइतबारै पक्राउ गरिएको थियो भने अर्का चाहिँ भागेर धादिङ पुगिसकेका थिए । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सामान्य विवादमा झगडा हुँदा उनीहरुले रिजाललाई चक्कु हानेका थिए । अर्का एक साथीलाई पनि चक्कु हानिए पनि पछाडिबाट लागेका कारण घाइते छन् ।

उनीहरुबीच यसअघि पनि झगडा भएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार