हातको औला ८० लाखमा बेच्ने योजनासहित महिलाको हत्या गर्ने गिरोह पक्राउ (भिडियो)

तान्त्रिक प्रयोजनका लागि बेच्न महिलाको औला काटेर शव खोलामा

तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गरी शरीरका अंगहरू बेचविखन गर्ने संगठीत गिरोहलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।

तान्त्रिक कामको लागि मानिसको औंलाहरू चाहिने र औंला काटेर ल्याएमा प्रति औंला ८० लाखसम्म बिक्री हुने भन्दै संगठीत गिरोहले रूपन्देहीकी एक महिलाको हत्यामा संलग्न भएको खुलेको थियो । उक्त गिरोहीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ५ मनहरपुर बस्दै आएकी सरजहा दर्जीको हत्या गरि औला काटेपछि शव खोलामा फालेको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

गत चैत २० गते कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ६ स्थित बेतिया नदिमा एक महिलाको शव भेटिएपछि प्रहरीले संलग्नको खोजी गरिरहेको थियो । हत्यामा संलग्न गिरोहले शव खोलामा डुबोस् र कसैले पत्ता नपाओस् भनेर शवसँगै बोरामा ढुंगा समेत राखेर शवलाई फालेका थिए ।

बोराभित्र राखिएको शव खोलाबाट निकाल्दा शव सडिसकेको थियो भने हातका औंलाहरु काटिएको अवस्थामा थिए । प्रहरी अनुसन्धानले शव दर्जीको भएको पत्ता लागेको थियो कपिलवस्तुको महाराजगञ्जमा विवाह भए पनि श्रीमानको मृत्यु भएपछि विगत १२र१३ वर्षदेखि माईतीमा बस्दै आएकी थिइन् ।

घटना विवरण अनुसार रुपन्देहीकै अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमानसँग लामो समयदेखि चिनजान थियो । गत चैत १२ गते अब्दुल र बेलाले दर्जीलाई फोन गरी जिल्लाको शुद्धोधनमा पर्ने हर्दिहवा बोलाए ।

पुरानै चिनजान भएका व्यक्तिहरुले बोलाएपछि दर्जी हर्दिहवा गईन् । त्यहाँ पुग्दा साँझ पर्दै थियो । केहि बेर बेतिया नदि छेउको चौरमा कुराकानी गरेर बसे । राति ९ बजेतिर महिला कुराकानीमा भुलिरहेको मौका छोपी दुवैजनाले उनको घाँटी थिचेर बसे। घाँटी थिचेको केहिबेरपछि महिलाले चलमलाउन बन्द गरेपछि उनिहरुले दुवै हातका दशवटै औंला काटेर प्लाष्टिकमा राखे। रात परिसकेकोले हतारहतार शवलाई बोरामा हालेर खोलामा नतैरियोस् भनी ढुंगा समेत राखेर फालिदिए ।

स्थानीयले खोलामा तैरिएको अवस्थामा उनको शव भेटेपछि प्रहरीले झण्डै दुई साता बढीको अनुसन्धानबाट महिलाको हत्या तान्त्रिक प्रयोजनको लागि औंला बिक्री गर्ने योजनाका साथ भएको पत्ता लगाएको हो ।

प्रहरीले लामो अनुसन्धानपछि हत्या गर्ने र औंला राख्ने सबैलाई पक्राउ गरिएको जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा ३९ वर्षिय अव्दुल कलाम मुसलमान र ४५ वर्षिय बेलाल अहमद मुसलमान, ५५ वर्षिय रामहरव यादव, ६७ वर्षिय कर्ण बहादुर सुनार र ६७ वर्षिय खेम बहादुर मल्ल छन् ।

पक्राउ परेकाले मानिसको एउटै औंलालाई ७०/८० लाख रूपैयाँसम्ममा विक्री हुने भन्दै महिलाको हत्या गरि औंला काटेर राखेको बताएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई संगठीत अपराध, कर्तव्य ज्यान तथा मानव बेचविखन तथा ओसारपसार कसुरमा म्यादथप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार