एजेण्डा बिहिन काँग्रेसले फोटो भाइरल बनाएर कुण्ठा मेट्योः प्रमुख, बागलुङ नगरपालिका

सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल भयो । खानेपानीको पाईप सुकेको बाँसमा प्लाष्टिकको डोरीले बाँधेर अडाईएको छ । दुई जना खादा लगाएका व्यक्तिले खानेपानीको उद्घाटन गर्दै छन् । तस्विरमा देखिएको घटना बाग्लुङ नगरपालिका वडा नम्बर २ ढिकी चौरको हो । बाग्लुङ नगरपालिका र स्थानीयको करिब १३ लाख लागतमा उक्त खानेपानी आयोजना सम्पन्न भएको हो । खानेपानी आयोजनाको प्रदेश सांसद ईन्द्रलाल सापकोटा र बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले संयुक्त रुपमा भदौ २ गते उद्घाटन गरे । यस विषयमा सामाजिक सञ्जालमा व्यापक टिका टिप्पणी भएपछि उद्घाटनमा सहभागी मध्येका एक बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलसँग यसै विषयमा कुराकानी गरेको छौँ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानी:

तपाइले गरेको खानेपानी उद्घाटनको फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो । यसमा तपाईलाई गर्व लाग्यो कि पछुतो  ?

गर्व र पछुतो भन्दा पनि सत्य के हो भन्ने कुरा महत्वपूर्ण हुन्छ । गलत सन्देशमा गर्व गर्नुपर्ने कुरा पनि केही भएन् । पछुतो मान्नुपर्ने कुरा पनि केही भएन् । त्यो झुठा समाचार सम्प्रेशण भएकोमा मलाई दुःख लागेको छ ।

सत्य के थियो त ?

यो आयोजना २०४८ सालबाट जारी थियो । विविध कारणले उक्त खानेपानी आयोजनाको काम रोकिएको थियो । त्यसैको मर्मत सम्भार गरेर  स्थानीयले खानेपानीको जोहो गरिरहेका थिए । पानी अभावका कारण त्यहाँका नागरिक विस्थापित हुने अवस्थामा थिए ।
त्यसलाई व्यवस्थापन गर्न नगरपालिकाले ५ लाख अनुदान दिएको हो । अनि स्थानीयहरुले ८ लाखको स्रोत जुटाएर मर्मत गरिएको हो । उनीहरुको कठिन मेहनतले नै हरेक घरघरमा अहिले खानेपानी पुगेको छ । पानीको धारा निर्माण भएको छ । अहिले त्यहाँका स्थानीयहरु एकदमै खुसी हुनुहुन्छ ।

तस्विरमा जे देखियो त्यसकोे वास्तविकता के हो ?

स्थानीयहरुले कुनै एक व्यक्तिको घरमा राखेको धारा उद्घाटन गर्ने भनी रहेका थिए ।  सबैले कुनै व्यक्तिको घरमा धारा उद्घाटन गर्नुभन्दा सार्वजनिक स्थानमा धारा उद्घाटन गर्नु राम्रो भन्ने निस्कर्ष निकाले पछि उद्घाटनका लागि मात्रै त्यो धारा बनाइएको थियो ।
उपभोक्त समितिले असारको अन्तिममा धारा उद्घाटनका लागि बोलाएको थियो । तर मैले हतार किन ? अहिले सबै किसान काममा व्यस्त छन् पहिले काम सकौँ अनी विस्तारै गरौँला भनेर भनेको हो ।
हामीले राजा महाराजाको जसरी यस्तो हुनुपर्छ पर्दैन भनेर पनि भन्ने कुरा आएन् । स्थानीयले गरेको उद्घाटन कार्यक्रममा हामी सहभागि मात्रै भएका हौं ।
हाम्रो काम भनेको सबैको घर नजिकै पानीको पाइप र पानी पुर्याई दिने हो । बाँकी कसरी उपभोग गर्ने व्यवस्थापन गर्ने भन्ने कुरा उनीहरुको हो । ग्रामिण क्षेत्रमा यसरी हामीले सिमित स्रोत साधानलाई लिएर पनि परिपूर्ति गरिरहेका छौँ भन्ने हो । तर केही खास तत्वहरुलाई त्यो पनि नराम्रो लाग्यो र अनावश्यक हल्ला चलाइयो ।
अनावश्यक हल्ला चलाउने खास तत्व भनेको को हो ?

आम नागरिकले सुविधा पाएको देख्न नचाहने । केही राम्रो भएको हेर्न नचाहने । केही समाजमा रहेका व्यक्तिहरु विभिन्न विपक्षी पार्टीमा हुनुहुन्छ । जस्तो नेपाली कांग्रेस । एजेण्डा बिहिन काँग्रेसले यसैलाई भाइरल बनाएर रानीतिक कुण्ठा मेट्यो । तर म राजनीतिक आरोप लगाउन चाहान्न । त्यो खालको प्रवृति देखिन्छ समाजमा ।

उद्घाटनमा हवाई जहाज चार्टर गरेर जानु भयो भन्ने पनि तिप्पणी भइरहेको छ नी ?

त्यो तथ्यलाई सहि सावित गर्ने मान्छेलाई मैले भने म पुरस्कार दिन्छु । म १० लाख रुपैयां पुरस्कार दिन्छु । नगरपालिकाको कार्यालयबाट त्यहाँ पुग्नका लागि आधा घण्टा लाग्छ र पैदल हिँडेर पनि एक डेढ घण्टा लाग्छ । हेलिकप्टरको कुरा जसले गर्यो । कति नम्बरको हेलिकप्टर हो ? पाइलट को थियो ? कुन कम्पनीको हो ? त्यो यर्थाथता प्रष्ट गर्नुभयो भने म उहाँहरुलाई पुरस्कार दिन्छु । त्यो गलत अफवाह फैलाइएको हो । जनमानसमा भ्रम पार्ने तत्वको काम हो ।
एक सर्वसाधारणको नजरबाट हेर्दा उद्घाटनमा कहिँ कतै गलत भएकै हो भन्ने लाग्छ कि लाग्दैन ? सामाजिक सञ्जालका टिप्पणीलाई कसरी लिनु भएको छ  ?

अब राम्रो स्रोत साधानको व्यवस्था गरेको भएपनि अन्यथा हुने थिएन । गलत हुने थिएन् । तर आम नागरिकले जस्तो व्यवस्था गर्नुभयो त्यसैमा हामीले कार्यक्रम गर्यौ । राजा महाराजाको जस्तो यस्तो हुनुपर्छ उस्तो हुनुपर्छ भनेर हामीले भनेनौं ।
नकारात्मक टिप्पणी जुन गर्नुभएको छ । त्यो उपयुक्त होइन । नगरपालिकाले जस्तो सुकै कठिन अवस्थामा पनि आम नागरिकको खानेपानीको समस्या समाधान गर्न भूमिका खेलेको छ । यो अवस्थालाई पनि हेर्नुपर्यो । अनि यस्तो जटिल अवस्थामा पनि सबैको घरघरमा पानी पु¥याएको छ । नगरपालिकाकाले स्थानीय उपभोक्त सँग मिलेर पनि धेरै राम्रो काम गरेको रहेछ भन्ने कुरा यसले प्रमाणित गर्छ ।

एक वर्षमा भएका कामबाट म सन्तुष्ट छु : प्रमुख,बाग्लुङ नगरपालिका

Related posts

Leave a Comment