४ हजार ६३६ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १४ हजार ५५६ परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५८४ पुगेको छ ।

पछिल्लो समय थप ३५० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १६ हजार तीन पुगेको छ । सङ्क्रमणमुक्त हुनेदर ९६.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा चार जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म ११ हजार ६१७ जनाको सङ्क्रमणका कारण मृत्यु भइसकेकोे छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, चितवन, भक्तपुर, कास्की र कैलाली रहेका छन् ।

यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, धनुषा, मकवानपुर, काभ्रे, नवलपरासीपूर्व, बाँके र रुपन्देही रहेका छन् । नेपालमा सङ्क्रमणदर १७ प्रतिशत रहेको छ । हाल होमआइसोलेशनमा २० हजार ५३६, संस्थागत आइसोलेशनमा एक हजार ४८, आइसीयूमा ११९ र भेन्टिलेटरमा २६ जनाको उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार