पत्रकार महासंघको अध्यक्षप्रति प्रश्न उठाउँदै केन्द्रीय सदस्यले गरे बैठक बहिस्कार

नेपाल पत्रकार महासंघका १७ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष विपुल पोखरेलको नैतिकतामा प्रश्न उठाउँदै केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् ।

केन्द्रीय सदस्यहरु बैठक कक्षबाट बाहिरिएपछि महासंघको केन्द्रीय समिति बैठक औपचारिक रुपमा सुरु हुन सकेको छैन । कपिलवस्तुको तिलौराकोटमा आयोजना गरिएको महासंघको बैठकमा सहमतिको प्रयासमा अहिले पदाधिकारीहरुको बैठक बसिरहेको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेलले मिडिया अवार्डको आयोजक ड्रिम हाइसँग तीन लाख रुपैयाँ लिएर सहकार्य गरेका थिए । सो अवार्ड अधिकांश पत्रकारहरुले बहिस्कार गरेका थिए । अवार्डमा महासंघको संलग्नताबारे प्रश्न उठेपछि महासंघकी सचिव सिर्जना अर्यालले विज्ञप्ति जारी गर्दै संलग्नता नरहेको बताएकी थिइन् ।

केन्द्रीय सदस्यहरुले मिडिया अवार्डका नाममा महासचिवको हस्ताक्षर दुरुपयोग, अध्यक्षले विभिन्न ठाउँमा फोन गरेर पैसा मागेको तथा विवादित कार्यक्रममा गएर अध्यक्षले संस्थागत मान्यता दिएको घटनाको छानबिन हुनुपर्ने बताएका थिए ।

महासचिव रोशन पुरीले अध्यक्ष पोखरेललाई बैठकको अध्यक्षता गरिदिन आग्रह गर्नासाथ केन्द्रीय सदस्यहरुले मिडिया अवार्ड र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको सिफारिस पत्रमा महासंघ अध्यक्ष पोखरेलको हस्ताक्षरको विषयमा प्रश्न उठाउँदै यी विषय सम्बोधन नभएसम्म बैठक सुरु हुन नसक्ने बताए ।

महासंघकी उपाध्यक्ष बाला अधिकारीले कांग्रेसको राजनीतिमा सक्रिय हुने भन्दै महासंघबाट राजीनामा दिएको घोषणा गरेकी थिइन् । तर उनी महासंघको आजको केन्द्रीय समिति बैठकमा सहभागी भएकी छन् । उनीहरुले अधिकारीको उपस्थितिबारे पनि प्रश्न उठाएका छन् ।

बैठक बहिस्कार गर्नेमा प्रेस सेन्टर र समाजवादी प्रेस संगठनबाट निर्वाचित केन्द्रीय सदस्यहरु छन् । अध्यक्ष पोखरेल र यी सदस्यहरु एउटै टिमबाट पत्रकार महासंघमा निर्वाचित भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार