कोरोना भाइरस फैलनुमा पार्टीहरु नै जिम्मेवार छन्ः डा दिक्षित

वरिष्ठ चिकित्सक डा. सुन्दरमणी दिक्षितले नेपालमा कोरोना भाइरस फैलनुमा राजनीतिक दलहरु दोषी भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित साक्षातकारमा उनले दलहरुले महाधिवेशन गर्दा संक्रमण फैलिएको बताए । डा. दिक्षितले सरकारले अग्रिम जानकारी हुँदा पनि धेरै राजनीतिक दलहरुलाई महाधिवेशन गर्न दिएकोले कोरोना संक्रमण फैलिएको बताए ।

उनले भने,‘नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता दलहरुको महाधिवशेनको कारण कोरोना भाइरसको संक्रमण बढेको हो ।’ दलहरुले कोरोना संक्रमणलाई गम्भीर रुपमा नलिएकाले भयावह अवस्था आइसकेको बताए ।

आफूले सबै पार्टीलाई विधान परिवर्तन गरेर थोरै समयमा महाधिवेशनको काम सक्न सल्लाह दिएपनि कार्यान्वयन नगरेको बताए । कुनै पनि दल र दलका नेताहरुको प्रतिवेदनमा कोरोना खोपको बारेमा उल्लेख नगरेकोे समेत बताए । सरकारले आफ्नो पार्टीको भेला रोक्न नसकेको भन्दै आज २५ जनाको भेलालाई रोक्न खोज्नु हास्यास्पद भएको बताए ।

मानिसहरुको लापरवाहीले गर्दा नै भाइरस संक्रमण बढेको उनको भनाई थियो । भुटानले सबै जनसंख्यालाई २ डोज दिइसक्दा नेपालले बालबालिकाहरुलाई खोप दिन नसकेको बताए । विद्यार्थी, नेता, बन्द कोठामा बस्ने तथा बाहिर हिड्नेहरुले मास्कको प्रयोग नगरेको उनले आरोप लगाए । मास्क लगाएर, कोरोना प्रोटोकल्सको प्रयोग गरेर आफु मात्र नभएर परिवार र सिंगो समुदायलाई बचाउनुपर्ने उनको भनाई थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार