र्‍यापर लाउरेसहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अनुमति

लागूऔषधसम्बन्धी आरोपमा पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’ सहित ४ जनालाई जिल्ला अदालत कास्कीले थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

यसअघि अदालतले उनीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएकामा सो म्याद सकिएपछि प्रहरीले थप १७ दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो ।

उनलाई गत बुधबार २१ गतेदेखि लागु हुनेगरी १७ दिन हिरासतमा राख्न अनुमति दिइएको हो । प्रहरीले लाउरेसहित चार जनालाई पुस १४ गते राति ७ बजे पोखरा महानगरपालिका-८स्थित जाल्पारोडबाट पक्राउ गरेको थियो । १५ गते सार्वजनिक विदा भएका कारण १६ गतेबाट मात्रै अदालतबाट अनुमति लिएर उक्त मुद्दामा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । प्रहरी स्रोतका र्‍यापर लाउरेले लागुऔषध सेवन गर्नेबारे भने स्वीकारिसकेका छन् ।

उनीसँगै पोखरा-२१ घर भएका ३९ वर्षीय ध्रुबबहादुर थापा, रुपा गाउँपालिका-७ घर भएका ३० वर्षीय बिक्की भन्ने नविनकुमार गुरुङ र स्याङ्जा भिरकोट नगरपालिका घर भई पोखरा-८ सभागृह बस्ने २२ वर्षीया सुस्मिता गुरूङ पक्राउ परेका हुन् ।

उनीहरूमाथि ब्राउन सुगर कारोबार गरेको आरोप छ । उनीहरूबाट १३.०१ ग्राम ब्राउन सुगर बरामद भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार