बेनी–दरबाङ सडकका ठेकेदार नौ महिनापछि काममा फर्किए

म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्डका ठेकेदार नौ महिनापछि काममा फर्किएका छन् ।

ठेकेदार सम्पर्कविहीन हुँदा सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएको समाचार मङ्सिर अन्तिम साता राससमार्फत विभिन्न सञ्चारमाध्यममा प्रकाशन/प्रसारण भएको थियो । पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभी गत वैशाख महिनादेखि सम्पर्कविहीन बनेपछि सो सडकखण्ड अलपत्र बनेको थियो ।

समाचार सार्वजनिक, सम्बन्धित कार्यालयको ताकेता र राजनीतिक तथा नागरिक दबाब सिर्जना भएपछि सडकको काम सुरु भएको छ । हिमालयन विल्डर्सलाई सहायक ठेकेदारका रुपमा पुस तेस्रो सातादेखि काममा पठाएको बिरुवा क्याराभानका प्रतिनिधि सोमनाथ गौचनले बताए । “अधुरो कामलाई पूर्णता दिने गरी मजदुर र उपकरण परिचालन गरिएको छ”, उनले भने, “सडक निर्माणलाई सहज बनाउन नदीजन्य निर्माण सामग्रीको सहज व्यवस्थापन गरिदिन अनुरोध गरेका छौँ ।”

विसं २०७६ जेठ ३१ गते रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा सकिनुपर्ने थियो । हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको यो आयोजनाको ठेक्काको म्याद आगामी चैत महिनासम्म थपिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए । गत वैशाखमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञाका कारण सडक निर्माण रोकिएको थियो । बलौटेमा म्याग्दी नदीले कटान गरेर जोखिम बनाएको छ । सो ठेकेदारको जिम्मामा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ ।

अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । सडकमा थुपारिएको माटो, ढुङ्गा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको यातायात व्यवसायी प्रमोद भण्डारीले बताए । नाली, पर्खाल निर्माण र बिस्तार गरेर कालोपत्र गर्न ६५ जना मजदुर, दुई वटा एस्काभेटर र दुई वटा टिपर परिचालन गरेको हिमालयन विल्डर्सका सञ्चालक निरज भण्डारीले बताए । उनले मजदुर र उपकरण थप गर्ने योजना रहेको जानकारी दिए ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दुरीको बेनी–दरबाङ सडक पूर्वाधार विकास कार्यालयले तीन वटा प्याकेजमा स्तरोन्नति गरिरहेको छ । लामा–समानान्तर जेभीले ठेक्का लिएको बेनी–सिमखण्डको १२ किमी सडकको बेनीदेखि तातोपानी खण्ड बिस्तारको काम सकिएर कालोपत्रको तयारी भएको छ । तातोपानीदेखि सिमखण्डमा बिस्तार, नाली र पर्खाल निर्माण सुरु गरेको लामा–समानान्तरका आयोजना व्यवस्थापक राकेश सदाले बताए ।

ठूलोखोलामा अस्थायी क्रसर स्थापना गरेर बेस र सब बेस उत्पादन गरेर सडकमा बिछ्याउने तयारी भएको बताए । उनले नदीजन्य वस्तुको अभाव भएको बताए । बेनी सामुदायिक र खानेपानी उपभोक्ता संस्था कार्यालय परिसरमा सडक ढलान भइसकेको छ । बाह्र किलोमिटर ५०० मिटर सडक ११ मिटर फराकिलो बनाएर सात मिटर चौडाइका दरले कालोपत्र गर्ने ठेक्का लिएको लामा निर्माण कम्पनीका सञ्चालक प्रतिनिधिसभा सदस्य जीपछिरिङ लामाको तस्बिर सडकमा झुण्ड्याएर स्थानीयवासीले विरोध जनाएका थिए ।

विसं २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करिब ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । चोथौ पटक म्याद थप भएको यो आयोजनाका ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन तथा सामग्री जुटाउन नसक्दा ढिलाइ भएको हो । सीमदेखि लाम्पाटाखण्डको चार किमी सडक कालोपत्र गर्न पुस १८ गते ओमबुद्ध निर्माण सेवा वसुन्धराले रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर गुरुदत्त अधिकारीले जानकारी दिए ।

ठेक्का प्रतिस्पर्धामा ओमबुद्धले अनुमान गरिएको भन्दा ४३ प्रतिशत घटेर कबोल गरेको थियो । १० वटा कम्पनीले प्रतिस्पर्धामा भाग लिएका थिए । ठेक्का सम्झौताको म्याद १८ महिनाको हो । सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गर्न लागिएको हो ।

विसं २०६३ मार्ग खुलेको २४ किमी दुरीको बेनी–दरबाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । यो सडक बाग्लुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार