कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्‍वासको मत लिँदै

विश्वासको मत दिन माओवादी केन्द्रको अपिल

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन् । दिउँसो २ बजे हुने मतदानबाट उनी नेतृत्वको सरकारको भविष्य निर्क्यौल हुनेछ । उनले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै नेपालको संविधानको धारा १८८ को (२) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरिसकेका छन् ।

कर्णाली प्रदेश सभामा ठूलो दल नेकपा एमालेले नेकपा (माओवादी केन्द्र) नेतृत्वको प्रदेश सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिनुपर्ने बाध्यता आइपरेको हो । हाल ३९ सदस्य रहेको कर्णाली प्रदेशसभामा मुख्यमन्त्री शाहीको दल माओवादी केन्द्रका १२ जना सांसद छन् ।

विश्वासको मत लिनका लागि २० जना सांसदको आवश्यकता पर्दछ । यस्तो प्रतिकूल अवस्थामा समेत विश्वासको मत लिन खोज्नुले मुख्यमन्त्री शाहीले अन्य दलसँग आन्तरिक गठजोड गरेको अनुमान गरिएको छ । प्रदेशसभामा कांग्रेसका ६, राप्रपाका १ र एमालेका १९ (सभामुख राजबहादुर शाहीलाई छोडेर) सांसद छन् । माओवादी केन्द्रका नेता शाही संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

आजको बैठकमा विश्वासको मत लिने कार्यतालिका तय भएपछि नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीलाई विश्वासको मत दिन अपिल नै गरेको छ । माओवादीकी संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले बिहीबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिल गरेकी हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार