संसदलाई सुचारु गराउन पहल गर्ने सरकार सञ्चालन समन्वय समितिको निर्णय

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार शुक्रबार बसेको समिति बैठकले संसद् लामो समय अवरुद्ध हुनु उचित नभएको भन्दै संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय भएको सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
संसदलाई बिना अवरोध सञ्चालन  गर्न सरकारको जतिकै प्रतिपक्षीको पनि कर्तव्य भएकोले सबै गम्भीर हुनुपर्ने उनले बताएका छन् । त्यस्तै बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सात वटै प्रदेशमा गठन गरिएको संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय भएको उनले बताए । माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा केन्द्रित भएर बैठकमा छलफल भएको कार्कीले जानकारी दिए ।
पाँच दलीय सत्ता गठबन्धनबिच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड भइसकेको छ । गठबन्धनले काँग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याउदै उम्मेदवारी समेत दर्ता गरिसकेको छ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार